logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शनिबार दिनभर सर्लाहीका विभिन्न कार्यक्रममा ब्यस्त भए गृहमन्त्री श्रेष्ठ


  • उज्यालो अभियान

बागमती – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडक जति नै पहुँचवाला र स्थापित भए पनि सरकारले नछाड्ने बताएका छन् ।

सर्लाहीको बागमतीमा शनिबार नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजी जस्ता शोषकको पक्षमा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने बताएका हुन् । “मिटरब्याजविरुद्ध सरकारले आयोग गठन गरी नयाँ कानून ल्याएर काम गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ,” गृहमन्त्री श्रेष्ठले भने, “कहिँ कतै मिटरब्याजीको पक्षमा कुनै पनि पार्टीका कार्यकर्ता देखा परे भने उ जति सुकै सम्पन्न, पहुँचवाला वा स्थापित होस्, त्यस्ता कसैलाई पनि छाडिन्न, शोषकको पक्षमा लाग्ने सबैलाई कारवाहीको दायरामा ल्याएरै छाड्छौँ ।”

गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिलाउन र मिटरब्याजीले लिएको सम्पत्ति फिर्ता गराउन लागि परेको बताए । उनले आइतबार जनकपुरमा मिटरब्याज जाँचबुझ आयोगको कार्यालय नै स्थापना गरेर मिटरब्याजको सम्वन्धमा थप अनुसन्धान र कारवाही अघि बढाइने जानकारी दिए ।

सर्लाहीमा स्वर्गिय डाचाराज वाग्लेसँगै कमल बुढाथोकी, भरतकुमार थापासहित आफू समेत सामेल भएर मिटरब्याज पीडकलाई सजाय दिलाएको र केही पीडकलाई कारागार चलान गर्न समेत सफल भएको गृहमन्त्री श्रेष्ठले स्मरण गरे । उनले सर्लाही जिल्ला मिटरब्याजी पीडितको न्यायको निम्ती आन्दोलनको नायक जिल्ला रहेको बताए ।

मिटरब्याजविरुद्धको आन्दोलनमा लागिरहँदा तत्कालिन नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज डाचाराज वाग्लेको शंकास्पद मृत्यु भएको गृहमन्त्री श्रेष्ठको भनाई छ । उनले घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अहिले पनि अनुसन्धान गरिरहेको बताए ।

गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासनको कार्यशैलीमा परिवर्तन गर्नुपर्ने जरुरी रहेको बताउँदै श्रमिक, गरिब, निमुखा र पहुँच नभएका जनताको कामलाई पहिलो प्राथमिकता दिन प्रहरी प्रशासनलाई निर्देशन भएको उल्लेख गरेका छन् । कार्यक्रममा गृहमन्त्री श्रेष्ठले बागमती नगरपालिकाले वडा नं. ११ स्थित बागमती नदी किनारमा निर्माण गरेको १३ वटा घर लोपउन्मुख पहरी परिवारलाई हस्तान्तरण गरेका छन् ।

गृहमन्त्री श्रेष्ठ र बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले संयुक्त रुपमा पहरी बस्तीकी बयोवृद्धा ठूलिमाया पहरीलाई बस्तीको चाँबी हस्तान्तरण गरेका हुन् । स्याउले घर अर्थात् सेउलाले बेरेर बनाएको घरमा बस्दै आएका पहरी समुदायका ७० जना सदस्य रहेको १३ परिवारलाई एक करोड ५३ लाख रुपैयाँको लागतमा टिनले छाएको पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको बागमती नगरपालिकाले जनाएको छ ।

प्रत्येक परिवारलाई शौचालयसहितको ३ कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । बागमती किनारको जंगलमा स्याउले घर बनाएर बसिरहेका पहरी समुदाय नगरपालिकाले पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि दंग परेका छन् ।

मधेश प्रदेश सरकारको ३० लाख र बाँकी बागमती नगरपालिकाको बजेटबाट पहरी बस्ती तयार पारिएको हो । गृहमन्त्री श्रेष्ठले शनिबार नै लालबन्दीमा पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाको प्रथम मधेश प्रदेशस्तरीय भेलालाई सम्वोधन गरेका छन् ।

लालबन्दी ७ स्थित लालबन्दी पार्टी प्यालेसमा आयोजित दलित मुक्ति मोर्चाको प्रथम प्रदेश भेला शनिबार नै सकिएको छ । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले लालबन्दीबाट फेरि बागमती फर्किएर त्यहाँ सशस्त्र द्वन्द्वमा सर्लाहीका प्रथम सहीद इन्द्र कोइरालाको परिवारलाई पार्टीले निर्माण गरिदिएको घर हस्तान्तरण गरेका छन् ।

माओवादी नेताहरुले सहयोग जुटाएर स्वर्गिय कोइरालाको परिवारका लागि ३ कोठाको एक तले पक्की घर निर्माण गरिदिएका हुन् । मन्त्री श्रेष्ठले शनिबार साँझ बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा बोट शयर गरेका छन् ।

उनी ताल परिसरमा आयोजित नेपाल प्रेस सेन्टर सर्लाहीले राखेको पत्रकार सम्मेलनमा पनि सहभागी भएका प्रेस सेन्टर सर्लाहीका अध्यक्ष सिंह बहादुर थापा (श्रवण) ले बताए ।

सर्लाहीको सम्पूर्ण कार्यक्रम सकेर गृहमन्त्री श्रेष्ठ शनिबार साँझ अबेर महोत्तरीको बर्दिवास प्रस्थान गरेका छन् । शनिबार राति बर्दिवासमै बास बसेर उनी आइतबार जनकपुरमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुने बुझिएको छ ।