चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहीबारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा बिहीबार पालिकाको कर्मचारी टिमले वडा नं. ३ सुन्दरपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमले वडा नंं ३ लाई २९ रन पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको कर्मचारी टिमले १५.३ ओभरमा अल आउट हुदैं ७८ रन बनायो । कर्मचारी टिमका लागि लखिन्द्र यादवले सर्वाधिक १८ र सुनिल ठाकुरले १२ रन बनाए । वडा नं. ३ का लागि रमेश कुमारले ४ र लभ कुमार दासले २ विकेट लिए । ७९ रनको लक्ष्य पाएको वडा नं. ३ ले १० ओभरमा अलआउट हुदैं ४९ रन मात्रै बनाउन सक्यो ।
वडा नं. ३ का लागि मोहम्मद नियाजले सर्वाधिक १६ रन बनाए । कर्मचारी टिमका लागि राम विकास मण्डलले सर्वाधिक ४ विकेट लिए ।
प्रतियोगिताको बिहीबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले उद्घाटन गरेका हुन् । प्रतियोगितामा ९ वटा वडा र एक कर्मचारीको टिम गरि १० टिमको सहभागिता रहेको छ ।