हरिवन – केही साताअघि वनमा लागेको डढेलोबाट घर जलेर नष्ट एक विद्यार्थी नेताको घर अमेरिकामा बस्दै आएका एक मनकारीले निर्माण गरिदिने भएका छन् ।
हरिवन १ बिलन्दी बस्ने विद्यार्थी नेता उत्तम परियारको बाख्रापालन समेत गर्दै आइरहेको घर नजिकैको वनमा लागेको डढेलो सल्किएर जली नष्ट भएको थियो । परियारको घर हरिवन नगरपालिका ११ घरभई हाल अमेरिकामा बस्ने शैलेश मैनालीले निर्माण गरिदिने भएका हुन् ।
जननी शैलेश फाउण्डेसनमार्फत घर निर्माणको जिम्मा मैनालीले लिएको हरिवन निवासी युवराज भण्डारीले जानकारी दिए । घर निर्माणका लागि आज फाउण्डेसनका संचालक धनराज बुढाथोकीको नेतृत्वमा बिलन्दी पुगेर फाउण्डेसनमा आवद्ध समाजसेवी युवाहरुले जस्तापाता हस्तान्तरण गरेका छन् ।
परियारको घर निर्माणका लागि प्रमेश बादे, उज्वल बडाल, रामु चौलागाई, ज्ञानेन्द्र घिमिरेलगायतको टिमले पहल तथा समन्वय गरिरहेको छ । .