मलंगवा – सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा वैशाखभित्र प्राइमको काम सक्ने निर्णय गरिएको छ ।
सदरमुकाम मलङ्गवामा मंगलबार बसेको हुलाकी राजमार्ग समन्वय बैठकले यही वैशाख मसान्तभित्र प्राइमको काम सक्ने निर्णय गरेको हो । प्राइम हालेपछि धुलो उड्न छाड्ने अपेक्षा गरिएको छ । कामै नभएका ठाउँमा बेस बिछ्याएर प्राइप हाल्ने काम सक्ने र असार १५ गतेभित्र पश्चिम बागमतीदेखि पूर्व सङ्ग्रामपुरसम्मकै ४० किलोमिटर बढी हुलाकी सडकको कालोपत्रे गरिसक्ने निर्णय भएको बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।
सर्लाहीको हुलाकी सडक निर्माणका सम्वन्धमा यसरी वर्षौदेखि कयौँ पटक सहमती र निर्णय भइसकेका छन् । तर, पूरा काम नहुँदा अत्यन्तै धुलाम्मे र जिर्ण रहेकोसडकमा यात्रा गर्नै नसक्ने अवस्था छ ।
बैठकमा निर्माण व्यवसायीले चार/पाँच वर्षअघिको ठेक्का रकममा अहिले आएर काम गर्न असाध्य गाह्रो परेको र बैङ्क तथा वित्तीय संस्थाबाट ऋण नपाएकाले पैसा अभाव भएको गुनासो गरेका सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
अब कुनै पनि हालतमा बहानाबाजी नगरी जेठ अन्तिम वा नभए असार १५ सम्म जसरी पनि कालोपत्रेको काम गर्न जनप्रतिनिधि, सुरक्षा अधिकारी, नागरिक समाजलगायतबाट माग भएको सहायक प्रजिअ अधिकारीको भनाई छ । उनका अनुसार अवरोध रहेको ब्रह्मपुरी, मलङ्गवालगायतका स्थानमा ‘साइड क्लियर’ गराउन सबैपक्ष लाग्ने निर्णय पनि भएको छ ।
बैठकले सडक र नाला निर्माण नहुञ्जेल बस्ती र बजार क्षेत्रमा निर्माण व्यवसायीले पानी पटाउने र सडकमा परेका बिजुलीका खम्बा नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ ।