बरहथवा – सर्लाहीको बरहथवामा शनिबारबाट सप्ताहव्यापी लोककला प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
राष्ट्रिय नाचघर (साँस्कृतिक संस्थान) काठमाडौँ र बरहथवा नगरपालिकाको संयुक्त आयोजनामा स्थानीय स्तरको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यसहित लोककला प्रशिक्षण सुरु भएको हो । वैशाख १५ गतेसम्म चल्ने प्रशिक्षणमा राष्ट्रिय नाचघरका प्रशिक्षकहरु गायनतर्फका नर्सिङकला श्रेष्ठ, बाद्यबाधनतर्फ नरेश प्रजापति र नृत्यतर्फ रेखा कटुवालले प्रशिक्षण प्रदान गर्ने छन् ।

बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालले उद्घाटन गर्नुभएको कार्यक्रममा उपमेयर रामबाबु साह, प्रमुख प्रशासकीय अधिकृत मदन थापा, राष्ट्रिय नाचघरका महाप्रवन्धक अशोक कुमार राईलगायतको आतिथ्यता रहेको थियो । गीत, संगित तथा लोककलाको क्षेत्रमा चासो राख्ने विद्यार्थीहरुलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
सोही कार्यक्रमको उद्घाटनका अवसरमा सर्लाहीका स्थानीय कलाकारहरु राजेश गुप्ता, जितु श्रेष्ठ, रन्जित पुलामी, तेजनारायण आले लगायतलाई बरहथवा नगरपालिकाले सम्मान गरेको छ ।