चन्द्रनगर – सर्लाहीको चन्द्रनगरमा मुसहर समुदायका महिलाहरुको अगुवाईमा महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था स्थापना भएको छ ।
संस्थाकी अध्यक्ष शिवकलीदेवी माझीको अध्यक्षता तथा चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राजकुमार महतोको प्रमुख आतिथ्यता र सहयोगी संस्था साप नेपालका प्रदेस संयोजक जनक कार्कीको विशेष आतिथ्यतामा बिहीबार सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यहरु, नेपाल राष्ट्रिय मुसहर संघ, मुसहर महिला सशक्तिकरण मन्चका पदाधिकारी लगायतका २ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय मुसहर संघका अनुसार ६ सय २० घरधुरी र ३ हजार ७ सय ५५ जनसंख्या रहेको चन्द्रनगर गाउँपालिकाका मुसहर समुदायले दसकौँदेखी गाँउका महाजनहरुसंग ४ देखी ५ रुपैयाँ व्याजदर (४८% देखी ६० % व्याजदर) मा ऋण लिने गरेका छन ।

उक्त ऋण तिर्न मुसहर समुदाय सधैभरी महाजनको घर तथा खेतवारिमा गएर न्युनतम ज्यालामा काम गर्नु पर्ने बाध्यता छ । कमजोर आर्थिक अवस्था, शिक्षा तथा चेतनाको अभावका कारण उनिहरु बधुवा मजदुरको रुपमा साहुको घरमा गएर काम गर्नु पर्ने अवस्था छ ।
आज कमाएर आजै रमायो भोलिको लागी बचत नगर्ने भन्ने आरोप लाग्ने गरेका मुसहर महिलाहरु बिगत डेड बर्ष देखी साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) को समुहमा बसेर बचतको महत्व बुझेर माशिक बचत गर्दै आइरहेका थिए । संस्थाले उनिहरुले समुहलाई कृषिमा दर्ता गरेर माशिक बचत गर्ने सिकायो, बैठकको खाजा खर्च बापतको पैसा बचाएर समुहको कोषमा राखेर बचत गर्ने बानिको विकास गर्न सिकायो र फलस्वरुप मुसहर अगुवाको सहयोग र सहकार्यमा महाजनमुक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आएको संस्थाकी अध्यक्ष शिवकली माझीले बताईन् ।

समूहमा आवद्ध करिवव ८ सय महिलाहरु सेयर सदस्यको रुपमा सहकारीमा आवद्ध भएर आयआर्जन मुलक कार्यमा लाग्ने सहारीकी अध्यक्ष माझीले बताईन् । मुसहर महिलाले यसरी सहकारी संस्था स्थापना गर्न अथक प्रयास र सहयोग गर्ने साप नेपालका जनक कार्कीप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले यो नेपालमै पहिलो मुसहर महिलाको सहकारी भएको बताउँदै गाउँपालिकाले सहकारीमार्फत मुसहर समुदायलाई आय आर्जनका लागि बजेट छुट्याइएको बताए । कार्यक्रममा मुसहर अगुवा पचुलाल माझीले सहजीकरण गर्दै दलितहरुको सामाजिक आर्थिक अवस्थामा सुधार आउने बताए ।
सहकारीमार्फत आइएमई, मनिट्रान्सफर, फोन–पे लगायतको सुविधा रहने बताइएको छ ।