लालबन्दी बजार ।
लालबन्दी – सर्लाहीमा आज (आइतबार) पनि गर्मी छ ।
यहाँ हिजोअस्ती जस्तो आज चर्को घाम नलागेपनि मौसम धुम्मिएर गर्मी भइरहेको हो । आज यस क्षेत्रमा मौसम धुम्म भई पानी पर्लाजस्तो भइरहेको स्थानीयले बताएका छन् ।
यस क्षेत्रमा केही सातादेखि गर्मी अत्यधिक बढिरहँदा अत्यधिक गर्मी छ । त्यसैमाथि केही दिनदेखि तापक्रम अत्यधिक वृद्धि भई तातो हावा समेत चल्न थालेपछि जनजीवन प्रभावित बनिरहेको छ । गर्मीले मानिस छटपटिरहेका छन् ।
दिउँसोपख चर्को घाम, तातो हावा र अत्यधिक तापक्रमले गर्दा बाहिर निस्कनै मुस्किल पर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । साँझपख पनि जमिन तातेर उखरमाउलो गर्मी छ । यही गर्मीमा लामखुट्टे उत्तिकै लाग्छ ।
बिहानीपख मात्रै केही मात्रामा चिसो छ । नत्र अरु बेला खप्नै गाह्रो पर्ने गरी गर्मी हुन थालेको हो । यहाँ उत्तरी चुरेभेगको तुलनामा पूर्व–पश्चिम राजमार्ग क्षेत्र र सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा गर्मी झनै बढी छ ।
आज बिहान साँढे १० बजेको मापन अनुसार सर्लाहीको तापक्रम ३४ डिग्री सेल्सीयस छ । गर्मी बढ्दै जाँदा सडक, बजारमा मानिसको आउजाउ पातलिन थालेको छ ।
सडकमा निस्किएर मजदुरी गर्नुपर्ने मजदुर र किसान बढी मारमा परेका छन् । पानी पर्न नसक्दा सर्लाहीसहित आसपासका जिल्लामा धुलोको प्रदुषण समेत अत्यधिक बढेको छ ।
धुलो धुँवाले आँखा तथा घाँटीमा समस्या देखिन थालेको स्थानीय बताउँछन् । सुक्खापन बढ्दा यहाँका वन क्षेत्रमा डढेलो समेत लागिरहेको छ ।