logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

८ सय क्रेटमा बेचेको गोलभेँडा ३ सय क्रेटमा झर्यो


  • उज्यालो अभियान

लालबन्दी बजारबाट क्रेटमा राखेर अन्यत्र पठाउन लागिएको गोलभेँडा ।

लालबन्दी – विगत एक सातादेखि भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा सर्लाहीका किसानले फलाएको गोलभेँडा सस्तिएको छ ।

‘सिजन’ को अन्तिमतिर आएर भारतीय गोलभेँडा धेरै भित्रिँदा आफूहरुले फलाएको गोलभेँडाले भाउ नपाएको यहाँका किसानले गुनासो गरेका छन् । एक साताअघि किसानले गोलभेँडा प्रतिकेजी ३२ देखि ३५ रुपियाँसम्ममा बिक्री गरेका थिए ।

अहिले भने भाउ घटेर १२ रुपियाँ प्रतिकेजीमा आइपुगेको छ । भारतबाट ठूलो परिमाणमा गोलभेँडा भित्रिएको र चर्को घामले यहाँको गोलभेँडा पनि धमाधम पाकेर बजारमा धेरै आइरहेकाले भाउ घटेको लालबन्दी थोक तरकारी बजारका व्यापारी तोरबहादुर मगरले जानकारी दिए ।

“भारतबाट धेरै भित्रिएको र यहाँ पनि धेरै उत्पादन भएकाले गोलभेँडाको भाउ ह्वात्तै घट्न पुगेको हो,” बजार समितिका अध्यक्ष समेत रहेका मगरले भने, “एक साताअघि क्रेटको ८०० देखि एक हजारसम्म बिक्री भएको गोलभेँडा अहिले ३०० देखि ४०० रुपियाँमा किनबेच भइरहेको छ ।” अब यही चैत महिनाभर मात्रै गोलभेँडा उत्पादन हुन्छ ।

निरन्तर वर्षा हुन थालेपछि भने गोलभेँडाको बोट मर्न थाल्छ । अहिले बजारमा आइरहेको स्थानीय गोलभेँडा अन्तिम फलाइ हो ।

अघिल्ला वर्षहरुमा उत्पादनयामको अन्तिमतिर गोलभेँडाले राम्रो मूल्य पाउँदा किसानलाई राहत मिल्ने गरेको थियो । यो वर्ष भने अन्तिमतिर पनि भारतीय गोलभेँडा छ्यापछ्याप्ती भित्रिँदा गोलभेँडा खेती गर्ने किसान मारमा परेका हुन् ।

लालबन्दी नगरपालिका–१७, रानिगञ्जका किसान प्रवीण पौडेलले बिनारोकतोक भारतीय गोलभेँडा भित्रिँदा आफूहरु मारमा परेको गुनासो गरे । “भारतीय गोलभेँडा धेरै भित्रिँदा हाम्रो उत्पादनले भाउ पाएको छैन्, यही अवस्था रहे उत्पादन लागत उठाउनै मुस्किल पर्छ,” पौडेलले भने ।

सर्लाहीका किसानले उत्पादन गरेको गोलभेँडा लालबन्दी र नवलपुर बजारमा ल्याएर बिक्री गर्ने गरेका छन् । पछिल्लो समय सासापुरस्थित तीनघरेमा पनि गोलभेँडा सङ्कलन केन्द्र स्थापना गरी स्थानीय किसानले ल्याएको गोलभेँडा गरिद गर्न थालिएको छ ।

यहाँको गोलभेँडा काठमाडौँ, पोखरालगायत ठूला शहरमा निर्यात हुने गरेको छ । लालबन्दीस्थित थोक तरकारी बजारबाट मात्रै ३० टन भन्दा बढी गोलभेँडा निर्यात हुने गरेको थोक तरकारी बजार समितिले जनाएको छ ।