सन्जु कर्ण/हरिवन – उद्योग वाणिज्य संघ हरिवनको नयाँ नेतृत्व चयन भएको छ ।
आइतबार हरिवन नेवा समाजको सभा हलमा सम्पन्न चौंथो वार्षिक साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनले प्रयागराज पोते अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १४ सदस्यीय कार्य समिति चयन गरेको हो ।
कार्य समितिमा राजन केसी वरिष्ठ उपाध्यक्ष, कृष्णप्रसाद श्रेष्ठ, सुनिता शर्मा र दिनेश केसी उपाध्यक्ष, रामविनोद कुशवाहा महासचिव, निरन्जन साह सोनार सचिव, नवराज धमला कोषाध्यक्ष र बालकृष्ण गौतम सह–कोषाध्यक्ष चयन भएका छन् । यसैगरी, सदस्यहरुमा नारायण बहादुर कार्की, विनोद महत, युवराज भण्डारी, रामप्रवेश दास र मनोज साह रहेका छन् ।
उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षता तथा निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित सभामा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका निवर्तमान मेयर गणेश प्रसाई, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष सुरेन्द्र लामा, माओवादी केन्द्रका केन्द्रीय सदस्य अच्युतम काफ्लेलगायतले मन्तव्य राखेका छन् ।
साधारण सभाको अवसरमा उद्योग वाणिज्य संघ हरिवनले आफ्नो भवन निर्माण गर्न १० धुर जग्गा दान गर्ने नवनिर्वाचित कोषाध्यक्ष नवराज धमलालाई सम्मान गरिएको छ ।