रामनगर – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिका–१, खैर्बामा शनिबार साँझ आगलागी हुँदा दुईवटा घर पूर्णरुपमा जलेको छ ।
थप दुईवटा घरमा आंशिक क्षति पुगेको स्थानीयले बताएका छन् । हावाहुरी चलिरहेका बेला फोहोर जलाउँदा बालिएको आगो सल्किएर बाबुनन्द राय यादव र बन्ची राय यादवको दुईवटा घर पूर्णरुपमा जलेको हो ।
यस्तै, बन्ची राय यादवकै अर्को एउटा घर र रामदेव राय यादवको घरमा आंशिक क्षति पुगेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले उज्यालो अभियानसँग बताए । शनिबार साँझ ५ः३० बजेतिर सुरु भएको आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा करिव दुई घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
सुरुमा स्थानीय गाउँलेसँगै प्रहरी चौकी खैर्बा र इलाका प्रहरी कार्यालय गडहीयाबाट गएको प्रहरीले टोलीले आगलागी नियन्त्रणमा लिन नसकेपछि ३० किलोमिटर टाढा पर्ने हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा आगो निभाइएको हो । आगलागी पीडित बिचल्लीमा परेका छन् ।
प्रहरी उपरीक्षक सुवेदीले शनिबार साँझ नै स्थानीय स्तरमा केही व्यक्तिले पीडितलाई सहयोग गरेका र आइतबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आफूहरु त्यहाँ पुगेर जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट राहत उपलब्ध गराउने उज्यालोसँग बताए ।
सदरमुकाम मलंगवा नगरपालिकाको दमकल बिग्रिएर थन्किएकाले सर्लाहीमा अहिले आगलागीको उच्च जोखिम रहेका बेला हरिवन नगरपालिकासँग भएको एक मात्रै दमकल छ ।