झडप प्रतिकात्मक तस्बिर ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, बालगंगामा शुक्रबार साँझ दुई परिवारबीच जग्गाको विषयमा झै–झगडा हुँदा ६ जना घाइते भएका छन् ।
झगडामा लाठी र फलामको रडले समेत प्रहार हुँदा दुबै पक्षका गरी ६ जना घाइते भएका हुन् । घटनामा बालगंगाका ४५ वर्षीय शेख आरिफ, उनकी छोरी २५ वर्षीया टनाज फरिम, छोरा १४ वर्षीय महमद यासिर आराफाद र स्थानीय ३० वर्षीया हसनतारा खातुन घाइते भएकी छिन् ।
एक पक्षका उनीहरु ४ जनामध्ये टाउकोमा चोट लागेर घाइते ४५ वर्षीय शेख आरिफलाई थप उपचारका लागि राति वीरगन्ज रेफर गरिएको छ । अन्य ३ जनाको नमूना अस्पताल हरिवनमा उपचार जारी छ ।
यस्तै, घटनामा अर्को पक्षबाट शेख मन्सुरकी २० वर्षीया छोरी रुबी खातुन र २३ वर्षका छोरा महमद नसुरुदिन घाइते भएका छन् । उनीहरुको स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय हरिवनले घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।