logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिक्षक संघ सर्लाहीको मतगणना जारी, पासवानलाई सय मतको अग्रता


  • उज्यालो अभियान

हरिपुर – कांग्रेस निकट नेपाल शिक्षक संघ सर्लाहीको हिजो भएको मतदान अन्तर्गत अहिले मतगणना कार्य जारी छ ।

संघको नेतृत्व छान्न हिजो हरिपुरस्थित महावीर जनता बहुमुखी क्याम्पसमा मतदान भएको थियो । राति ९ बजेपछिबाट मतगणना चलिरहेको हो । अहिलेसम्म लालबन्दी, हरिपुर, बसबरिया, कौडेना, बलरा, पर्सा, गोडैता, हरिवन, बागमती, चन्द्रनगरलगायत पालिकाको मतगणना सकिएको छ ।

ताजा अवस्थामा संस्थापन पक्षबाट अध्यक्षका उम्मेदवार प्रवीण कुमार पासवान प्रतिस्पर्धी भन्दा एक सय मतले अगाडि छन् । संस्थापन पक्षका पासवानले ३९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन इतर पक्षका गणेश प्रसाद उप्रेतीले २९५ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । अन्य पदको पनि मतगणना जारी नै छ ।

हिजोको निर्वाचनमा शिक्षक संघमा आवद्ध १६ सय १२ शिक्षकमध्ये १३ सय ७५ जनाले मतदान गरेका थिए । रातभर गणना गर्दा पनि अझै आधाजस्तो मतगणना हुन बाँकी नै रहेकाले अन्तिम मरिणाम आउन आज बेलुकासम्म नै लाग्न सक्ने निर्वाचन समितिका एक जना सदस्यले उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार अहिले बिहान अब केही समयमा लागि मतगणना रोकेर आराम गर्ने तयारी भइरहेको छ ।

कांग्रेसको संस्थापन र इतर दुई गुटले शिक्षक संघको यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् ।