हरिपुर – नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सर्लाहीको नवौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ ।
मतदान अब केहीबेरपछि हरिपुरस्थित महावीर जनता बहुमुखी क्याम्पसमा सुरु हुने निर्वाचन समितिले जनाएको छ । साँझ ५ बजेसम्म मतदान चल्नेछ । शिक्षक संघको नेतृत्व लिन कांग्रेसको संस्थापन र संस्थापन इतर पक्षले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएको छ ।
संस्थापन पक्षबाट प्रवीणकुमार पासवान र संस्थापन इतरबाट गणेशप्रसाद उप्रेतीको नेतृत्वमा उम्मेदवारी दर्ता भएको हो । मतदानबाट एक अध्यक्ष, एक महिलासहित दुई उपाध्यक्ष, एक सचिव, एक अर्थसचिव, दुई सहसचिव, दुई समावेशी सहसचिव, एक महिला सहसचिवसहित १० जना पदाधिकारी र ३ महिलासहित ७ जना जिल्ला कार्य समिति सदस्य चयन हुने छन् ।
त्यस्तै, दुई महिलासहित ५ जना संघीय प्रतिनिधि र २ महिलासहित ६ जना प्रदेश प्रतिनिधि समेत चयन गरिने निर्वाचन समितिले जनाएको छ । शिक्षक संघमा जिल्लाको २० वटै पालिकाका १६ सय ११ जना शिक्षक आवद्ध छन् । आजको निर्वाचनमा उनीहरुले नै मतदान गर्न पाउने छन् ।
अधिवेशनको हिजो दिउँसो शिक्षक संघका संघीय अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका थिए ।