logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भूमिहिन र दलितलाई जग्गा व्यवस्थापनका लागि अन्तरक्रिया


  • उज्यालो अभियान

बरहथवा  – सर्लाहीको बरहथवामा आइतबार भूमिहिन सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गा व्यवस्थापनका सम्वन्धमा सरोकारवालासँग नीतिगत अन्तक्र्रिया गरिएको छ ।

साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) को आयोजनामा भूमिहिन र दलितलाई जग्गा व्यवस्थापनका लागि अन्तक्र्रिया गरिएको हो । भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्रप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अन्तक्र्रिया कार्यक्रममा बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, विभिन्न वडाका वडाध्यक्ष, राष्ट्रिय भूमि अधिकार मन्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरे, बरहथवा नगरपालिकाको भूमि आयोग सेवा केन्द्रका प्रमुख रामहरि कोइराला, मुसहर महिलालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी सरिताकुमारी माझी, सन्जावती माझी, मंगनीदेवी माझीलगायत मुसहर महिलाले कयौँ वर्षअघि वन फाडेर बस्ती बसाएर बसेका आफूहरु अहिलेसम्म जग्गाजमिन, नागरिकता र राज्यले दिने अन्य सेवा सुविधाबाट बन्चित हुनुपरेको गुनासो गरे ।

साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले मुसहर बस्तीमा पुग्दा घरबासको दयनिय अवस्था देखेर आफूलाई दुःख लाग्ने गरेको बताए । मुसहर समुदायले अहिले पनि शिक्षाबाट बन्चित हुनुपरेको र जातिय विभेद खेपिरहेको पाइएको कार्कीले उल्लेख गरे ।

बरहथवा नगरपालिकाको भूमि आयोग सेवा केन्द्रका प्रमुख रामहरि कोइरालाले बरहथवा नगरपालिकाभित्र ४५ सय ६३ जनाले भूमि आयोगमा निवेदन दिएका र त्यसमध्ये माझी, मुसहर र दलितबाट अत्यन्तै न्यून निवेदन परेको बताए । ६५ भन्दा बढी मुसहर घरधुरी रहेको बरहथवा ८ टाँडीबाट जम्मा ३८ वटा मात्रै निवेदन परेको छ ।

नागरिकता नभएकै कारण धेरै परिवारको निवेदन लिइएको छैन् । बरहथवा नगरपालिका ८ का वडाध्यक्ष राजकिशोर महतो र बरहथवा नगरपालिका १५ का वडाध्यक्ष रामबहादुर चौधरीले कतिपय कानूनी व्यवस्था र आफूहरुमा अधिकार नै नरहेकाले माझी, मुसहर र अन्य दलित समुदायको व्यवस्थापनमा समस्या रहेको बताए ।

टाउको लुकाउने र उभिने ठाउँ समेत नरहेका मुसहर समुदायबाटै यसरी न्यून निवेदन परेकोमा सहभागीले चिन्ता व्यक्त गरेका छन् ।

बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालले भूमिपुत्रका रुपमा चिनिने मुसहरलाई मिलेसम्म जन्मदर्ता र नागरिकताबाट बन्चित नगर्ने तथा भूमिका सबालमा पनि उनीहरुलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

भूमि आयोगका जिल्ला अध्यक्ष वाग्ले र भूमि अधिकार मन्चकी अध्यक्ष घिमिरेले पनि आ–आफ्नो तर्फबाट माझी, मुसहर र दलित समुदायको हकमा अझ गम्भीर भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।