logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीका शिक्षा शाखा प्रमुख वासुदेव तिमल्सिनासहित २ जना शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • उज्यालो अभियान

बासुदेव तिमल्सिना ।

लालबन्दी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको लालबन्दी नगरपालिकामा कार्यरत उपसचिव वासुदेव तिमल्सिनासहित दुई जना शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाएर अनुदान कोटामा शिक्षक नियुक्त गरेको आरोपमा अख्तियारले सर्लाहीका तत्कालिन सहायक जिल्ला शिक्षा अधिकारी एवं हाल लालबन्दी नगरपालिकाको शिक्षा शाखामा प्रमुखका रुपमा कार्यरत उपसचिव तिमल्सिनासहित अन्य दुई जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले शिक्षकको रुपमा नियुक्ती पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

अहिले हरिपूर्वा नगरपालिका–५, स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक पाँचु रायलाई लालबन्दी नगरपालिका–१६, परवानिपुरमा रहेको डिम जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा नियुक्त गराउने अवैध प्रक्रियामा संलग्न रहेको भन्दै तत्कालिन सहायक जिल्ला शिक्षा अधिकारी, विद्यालयका प्रधाध्यापक र नियुक्ती लिने शिक्षकविरुद्ध अख्तियारले आवश्यक अनुसन्धानपश्चात विशेष अदालतमा मुद्दा दायर गरेको हो । उपसचिव तिमल्सिना र डिम जनता माविका तत्कालिन प्रधानाध्यापक बरालको मिलेमतोमा उच्च माध्यमिक तह अध्यापनका लागि शिक्षक रायलाई नक्कली कागजात बनाएर नियुक्त गरिएको पुष्टी भएको अख्तियारले जनाएको छ ।

प्रधानाध्यापक बराल हाल हरिवन नगरपालिका–२, अत्रौलीमा रहेको रामअवतार जनता माध्यमिक विद्यालयको प्रधानाध्यापकका रुपमा कार्यरत छन् । उपसचिव तिमल्सिना र प्रधानाध्यापक बरालले बद्नियतपूर्वक नियुक्तीको लिखत तयार गरी सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाइ नेपाल सरकारलाई हानिनोक्सानी पु¥याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिको कसुर गरेको आरोप लगाइएको छ । यस्तै, शिक्षक पाँचु रायले नक्कली कागजातको आधारमा विद्यालयको शिक्षक बनी आफूले नपाएको ओहदा, अधिकारी र हैसियसमेतमा रहने कार्य गरी भ्रष्टाचार गरेको अख्यितारको ठहर छ ।