logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लागूऔषधसहित सर्लाहीको ईश्वरपुरबाट एक शिक्षक पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक निजी विद्यालयमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् ।

ईश्वरपुर नगरपालिका–१५ स्थित राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन लागूऔषध र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ परेका हुन् । विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले निजको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित हुसेनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको छ ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा अहिलेसम्म लागूऔषधको ८८ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको ९ महिनामा लागूऔषधका १ हजार २ सय ७४ बोतल, ४ हजार ६ सय ६८ थान ट्याब्लेट, २ हजार ८५ थान एम्पुल, लागूऔषको रुपमा प्रयोग हुने हेरोइन ३ हजार ४ सय ८० ग्राम र गाँजा ६ सय २८ किलो ५ सय ८० ग्रामसहित १ सय १३ जनालाई प्रहरी नियन्त्रणमा परेका हुन् । जिल्लामा लागूऔषधको सेवनकर्ता बढिरहेको पाइएको प्रहरी तथ्यांकले देखाएको छ ।