logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपुर्वामा लाठी जुलुस प्रदर्शनपछि नगरपालिका कार्यालयमा तालाबन्दी


  • उज्यालो अभियान

हरिपूर्वा – नौ बूँदे माग अघिसारी आन्दोलन गरिरहेका सर्वदलिय संघर्ष समितिले बुधबार लाठी जुलुस प्रर्दशनपछि सर्लाहीको हरिपुर्वा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

हातहातमा लाठी लिई प्रदर्शन गरिरहेका व्यक्तिहरुले नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । सर्वदलिय संघर्ष समितिका अध्यक्ष बिकाउ यादवले संघर्ष समितिले अघि सारेको नौ बूँदे जायज मागलाई वेवास्ता गरेपछि हरिपुर्वा नगरमा लाठी जुलुस र कार्यालयमा तालाबन्दी गरिएको बताए ।

उनले नगरपालिकाले प्रशासकीय भवन आफनै जमीनमा निर्माण गर्नुपर्ने, प्रहरी चौकीको नाममा खरिद गरिएको जमीनमै प्रहरी चौकी भवन निर्माण गरिनुपर्ने, नगरपालिकाले ऐतिहासिक नारायणदास मठको जमीन फिर्ता गर्नुपर्ने माग रहेको बताए । पूर्व–पश्चिम राजमार्गस्थित बाँके चोकदेखि संग्रामपुर सडकखण्डको अधुरो कालोपत्रेलाई यथाशीघ्र पुरा गर्नुपर्ने माग समेत गरिएको उनले बताए ।

हरिपुर्वा नगरपालिकास्थित सर्वदलिय संघर्ष समितिको आह्वानमा पुरुषहरुले लाठी र महिलाहरुले आफ्नो हातमा कूचो तथा झाडु बोकेर नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा नगरभित्रका उधोग, व्यवसाय, बजार तथा यातायातमा प्रभाव परेको थियो ।

संघर्ष समितिमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी), जसपा, लोसपा तथा जनमत पार्टीसमेतको सहभागिता छ । उनीहरुले नगर कार्यपालिकाले संघर्ष समितिले उठान गरेको जायज माग पुरा नगरेसम्म नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दी नखुल्ने दृढता व्यक्त गरेका छन् ।

हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहले संघर्ष समितिले अघि सारेका माग र नगरपालिकामा गरिएको तालाबन्दीका वारे कुनै प्रतिक्रिया जनाएनन्।