फाइल तस्बीर ।
मलंगवा – सर्लाहीमा पनि चैती छठ पर्वको उल्लास देखिएको छ ।
चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइएको छ । अब मंगलबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ विधिवत समापन हुनेछ ।
सर्लाहीमा सदरमुकाम मलंगवास्थित जनसागरसहित अन्य पोखरी, नहर, खोलालगायत जलाशयमा व्रतालुहरु चैती छठ पर्व मनाउन बसेका हाम्रा संवाददाताहरुले जनाएका छन् । कात्तिकमा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठाका साथ मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।