logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विद्युत् प्रशारण लाइनको विवाद सुल्झाउने प्रयास


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा हेटौंडा–ढल्केबर–इनरुवा चारसय केभिए प्रशारण लाइन निर्माणको विवाद सुल्झाउने प्रयास थालिएको छ ।

स्थानीयले गाउँ हुँदै प्रशारण लाइन निर्माण हुन दिएका छैनन् । बस्ती र खेतियोग्य जमिन हुँदै लाइन लान नदिने स्थानीयको अडानका कारण त्यहाँ काम अघि बढ्न सकेको छैन् ।

स्थानीयले बस्ती भन्दा उत्तर चुरेपाखा हुँदै वा लखन्देही खोला भएर लाइन लान माग गरेका छन् । यदी बस्ती र खेत हुँदै लाइन लाने हो भने आफूहरुको माग अनुसार मुआब्जा दिनुपर्ने स्थानीयको माग छ ।

बस्तीमाथि वा खेतबाट लाइन जाँदा घडेरी र खेत टुक्राटुक्री हुँदा विस्थापित नै हुने भएकाले आफूहरुको क्षतिलाई ख्याल गरी मुआब्जा दिनुपर्ने माग स्थानीयको छ । स्थानीयबाट प्रशारण लाइन विस्तारमा अवरोध भएपछि बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, हेटौंडा–ढल्केबर–इनरुवा प्रशारण लाइनका आयोजना प्रमुखलगायतसहित लालबन्दी नगरपालिकाका जनप्रतिनिधि स्थानीयसँग छलफल गर्न जियाजोर पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले विवादित क्षेत्रको बस्ती र जग्गाको समेत निरीक्षण गरेको छ । पुनः अर्को पटक छलफलमा बस्ने र स्थानीयवासीको मागका सम्वन्धमा माथिल्लो निकायमा कुरा पुर्याउने सहमतीपछि आजको छलफल सकिएको लालबन्दी १२ का वडाध्यक्ष दुर्गा आले मगरले जानकारी दिए ।