फाइल तस्बीर ।
हरिवन – बलात्कार आरोपीलाई प्रहरीले पक्राउ गर्न ढिलाई गरेको भन्दै सर्लाहीको नयाँरोडस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार दिउँसो स्थानीयले चक्काजाम गरेका छन् ।
गएको फागुन २५ गते हरिवन नगरपालिका–९, दनवारीका ५५ वर्षीय नारायण गौतमले गाउँकी एक ११ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेको छ । घटनापछि आरोपित गौतम फरार रहेका छन् । पीडित परिवारले गौतमविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा किटानीजाहेरी दिएका छन् ।
घटना भएको एक साता भइसक्दा समेत प्रहरीले अभियुक्तलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले राजमार्गमा जम्मा भइ नाराबाजीसहित टायर बालेर यातायात ठप्प पारेका हुन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतले बन्दस्थलमा पुगी आरोपित व्यक्तिको खोजी भइरहेको र जतिसक्दो चाँडो पक्राउ गरी कारवाही अघि बढाउने प्रतिवद्धता जनाएपछि स्थानीयले राजमार्ग सूचारु हुन दिएका छन् ।
इलाका प्रहरी कार्यालय हरिवनले पीडितको तर्फबाट किटानी जाहेरी दर्ता भइसकेको र आरोपितको खोजी तीव्र पारिएको जनाएको छ । आन्दोलित स्थानीयले आरोपित गौतमलाई राजनीतिक संरक्षण दिएर जोगाउने प्रयास भइरहेको दावी गरेका छन् ।
आरोपितलाई पक्राउ गर्न माग गर्दै हरिवन ९ का स्थानीयले गएको मङ्गलवार पनि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए ।