logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बसबरियामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कार्यालयमै चर्काचर्की, तनाव हुन नदिन प्रहरी परिचालन


  • उज्यालो अभियान

बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकामा बुधबार अध्यक्ष र उपाध्यक्षबीच चर्काचर्की परेको छ ।

गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारीबीच चर्काचर्की परी विवाद भएको हो । जसमा उपाध्यक्षका श्रीमान गोविन्द साह समेत संलग्न रहेको स्थानीय प्रत्यक्षदर्शीले उज्यालो अभियानसँग बताए ।

आन्तरिक विवाद भएको बुझिए पनि के विषयमा विवाद भएको हो ? भनी प्रष्ट भएको छैन् । अध्यक्ष र उपाध्यक्ष पक्षबीच हात हालाहालकै अवस्था आई तनावको स्थिति सिर्जना भएपछि प्रहरी पुगेर साम्य पारेको छ ।

गाउँपालिका कार्यालय अगाडि नै रहेको प्रहरी चौकी भवानीपुरले तत्काल स्थिति नियन्त्रणमा लिएपछि मानपुर र हिरापुर प्रहरी चौकीसहित इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा थप मद्धत टोली गाउँपालिका कार्यालयमा पुगेको थियो । अहिले पनि गाउँपालिकामा प्रहरी परिचालन गरिएको छ ।

बसबरियामा अध्यक्ष र उपाध्यक्ष दुवै जना एउटै पार्टी जसपाबाट निर्वाचित भएका हुन् ।

पछिल्लो समय योजना संचालनको विषयलाई लिएर बसबरियामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच तित्तता बढ्दै गएको स्रोतले जनाएको छ । विवादले गर्दा कर्मचारीलाई काम गर्न गाह्रो पर्न थालेको छ भने सेवाग्राहीलाई सेवा लिन र विकास निर्माणका काम प्रभावित भएका छन् ।

बसबरियासहित सर्लाहीका अधिकांश पालिकामा जनप्रतिनिधिबीच भागबण्डामा कुरा नमिल्दा समस्या सुरु हुन्छ । दक्षिणी भेगका पालिकामा अझ बढी समस्या छ ।

आफूले जिताएका जनप्रतिनिधीबीचको टकराबले गर्दा विकासका काम नै प्रभावित हुँदा आम नागरिकमा नैराश्यता बढ्दो छ ।