logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बयलवासमै भरतपुर आँखा उपचार केन्द्रको सेवा


  • उज्यालो अभियान

कार्यक्रमलाई सम्वोधन गर्दै मेयर मनोज कुमार आचार्य ।

बयलवास – भरतपुर आँखा अस्पताल चितवनले बिहीबारबाट सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

ईश्वरपुर नगरपालिकाले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी नगर अस्पताल परिसरभित्रै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । अब ईश्वरपुरसहित आसपासका स्थानीयले भरतपुर आँखा उपचार केन्द्रको सेवा नगर अस्पताल बयलवासबाटै पाउने भएका छन् ।

आँखा उपचार केन्द्रको बिहीबार ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल भएर संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ईश्वरपुर नगरपालिकाका प्रमुख आचार्यले ईश्वरपुर नगरवासी र यस भेगका नागरिकले आँखाकै उपचारका लागि भरतपुर, लहानलगायत ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य गर्न भरतपुर आँखा उपचार केन्द्रसँग समन्वय गरी यहीँ आँखा उपचार केन्द्र स्थापना गरिएको जानकारी दिए । उनका अनुसार भरतपुर आँखा उपचार केन्द्रले आजैदेखि नियमित रुपमा आफ्नो आँखा विशेषज्ञ र सहयोगी राखेर बिरामीको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मन्तव्य राख्दै ईश्वरपुर नगरपालिकाले यस भेगमै नमूनाका रुपमा भरतपुरका चिकित्सक ल्याएर आँखाका बिरामीलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाएर आर्थिक अवस्था कमजोर रहेका वर्गलाई टेवा पुग्ने काम गरेको भन्दै प्रशंसा गरे । आँखा उपचार केन्द्रमा नियमित आँखा परीक्षण हुने र परीक्षण गरिएकामध्ये मोतीविन्दु फेला परेका ५० जना भन्दा बढी बिरामी पुगेपछि निःशुल्क यहीँ शल्यक्रियाको समेत व्यवस्था मिलाइने नगर अस्पताल बयलवासले छ ।

आँखा उपचार केन्द्रको उद्घाटनकै अवसरमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी सन्तोष सुवेदी र सुमन दाहालले नगर अस्पतालका लागि सात थान शैय्या र बिरामी तथा उनीहरुको कुरुवाले हेर्नका लागि एक थान टेलिभिजन प्रदान गरेका छन् ।

त्यस्तै, ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले एक थान दराज प्रदान गरेको छ । सहयोगीदाता सन्तोष सुवेदी, सुमन दाहाल, ग्रामीण नारी उत्थान सङ्घ र आँखा उपचार केन्द्र स्थापना गर्न सहयोग गर्ने भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरेलाई सोही कार्यक्रममा सम्मान पत्रबाट सम्मान गरिएको छ ।

नगरप्रमुख आचार्यले तत्कालै नगर अस्पतालबाटै आँखा उपचार केन्द्र सञ्चालन गरे पनि निकट भविष्यमा बेग्लै आँखा अस्पताल स्थापना गरेर आँखाका बिरामीलाई अझ बृहत रुपमा सेवा दिने उद्घोष गरे । उहाँले नगर अस्पतालमै मृगौला डायलायसिस र वडा नं. ३ स्थित भक्तिपुर स्वास्थ्य चौकीमा महिला रोगको विशेषज्ञ राखेर सेवा प्रवाह गर्न पहल भइरहेको बताए ।

यसैबीच, बिहीबार नगर अस्पतालभित्रै आयोजना गरिएको रक्तदान शिविरमा २० जनाले रक्तदान गरेका छन् ।