logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा पानी पर्नै सकेन, खडेरीले किसान चिन्तित


  • उज्यालो अभियान

पानी नपर्दा सुक्खा देखिएको खेतबारी ।

लालबन्दी – सर्लाहीसहित मधेशका जिल्लामा पानी पर्न नसक्दा सुक्खापन बढ्दै गएको छ ।

यस क्षेत्रमा गएको भदौदेखि पानी पर्न सकेको छैन् । काठमाण्डौं, पोखरालगायत क्षेत्रमा पानी परेको समाचार सुनेका किसान यहाँ भने खडेरी जाँदा निराश छन् ।

सुख्खापनका कारण आगलागी र डढेलोको जोखिम बढेको छ । धुलो, धुँवाको प्रदुषण पनि उत्तिकै छ । पानी नपर्दा यहाँका बस्ती र खेतबारीका फाँट उजाड देखिएका छन् ।

विशेष गरी आकाशे वर्षाको भरमा रहेको जिल्लाको उत्तरी चुरेभेगका बस्ती उजाडिएका छन् । दक्षिणी भेगमा सिँचाई सुविधा रहेकाले खेतबारीमा हरियाली देखिए पनि उत्तरी भेगमा खेतीबारीका फाँट बाँझो छन् ।

हिउँदे वर्षा भए मधेशका किसानले बाँझो रहेका खेतबारी खनजोत गर्ने तयारी गरेका छन् । फागुनमध्य भइसक्दा पनि एक झर हिउँदे वर्षा हुन नसक्दा खेतबारी बाझैँ राख्नुपरेको किसानको गुनासो छ ।
किसानले पानी परेपछि मकै रोप्नका लागि बारीमा मल छर्ने काम धमाधम गरिरहेका छन् । केही दिनदेखि मौसम धाम्मधुम्म भइरहँदा किसानको आँखा आकाशतिरै छ ।

यस्तै, स्थानीय प्रशासनले खडेरी बढ्दै जाँदा आगलागीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । जिल्लामा जताततै खरका छानो भएका फुसका घर अत्यधिक रहेकाले यो समयमा ती घरहरुमा आगलागीको उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले सचेत गराएको हो ।

पानी पर्न नसक्दा यहाँको पूर्व–पश्चिम हुलाकी सडकसहित अन्य कच्ची भित्री सडकमा अत्यधिक मात्रामा धुलो उड्दा जनजीवन प्रभावित बनिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।