सन्जु कर्ण, हरिवन – सर्लाहीको हरिवनमा आयोजित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा महादेव जनता माध्यमिक विद्यालय पहिलो भएको छ ।
शुक्रबार सोही विद्यालयमा हरिवन नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको प्रतियोगितामा महादेव पहिलो हुन सफल भएको हो । प्रतियोगितामा नगरभित्रका १० वटा विभिन्न सामुदायिक तथा निजी विद्यालय सहभागी थिए ।
प्रतियोगितामा सनराईज आवासिय विद्यालय दोस्रो, शिशु प्रज्ञा सदन आवासिय विद्यालय तेस्रो र चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय चौंथो भएका छन् । विजेता विद्यालयलाई शिल्ड, प्रमाण–पत्र र अन्य पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले विद्यार्थीको समग्र विकासका लागि रचननात्मक प्रतियोगिता महत्वपूर्ण रहेको बताईन् । यस्तै, विशिष्ठ अतिथि हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुंगानाले विद्यार्थी पाठ्यपुस्तकमा मात्रै केन्द्रित नभई यस्ता अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन जरुरी रहेको बताए ।
कार्यक्रममा हरिवन नगरपालिकाको शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता पहिचान हुने भएकाले अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए । महादेवका प्रधानाध्यापक जयशंकर सिंहको अध्यक्षता तथा सहायक प्रधानाध्यापक गिरिराज रानाको संचालन रहेको कार्यक्रममा विद्यार्थीले स्थानीय सँस्कृति झल्किने झिझिया नृत्य प्रस्तुत गरेका थिए ।