logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पृथक ढंगले मनायो मलंगवा नगरले आफ्नो ३६ औँ स्थापना दिवस (फोटोमा पनि हेर्नुस्)


  • उज्यालो अभियान

मलंगवा नगरपालिकाको लोगो सार्वजनिक गरिँदै । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको सदरमुकाम र जिल्लाकै सबैभन्दा जेठो मलंगवा नगरपालिकाले अली पृथक ढंगले बिहीबार आफ्नो ३६ औँ स्थापना दिवस मनाएको छ ।

पछिल्लो समय परिवर्तनको सन्देश दिने प्रयास गरिरहेको यस नगरपालिकाले स्थापना दिवस यो पटक भिन्न र भव्य ढंगले मनाएको हो । मलंगवा नगरपालिकाले केही समयअघि मात्रै जिल्लामा पहिलो र नमूना कार्य अन्तर्गत आफ्नै नगर गान तयार पारी सार्वजनिक गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले सदरमुकाम भएर पनि परिवर्तन हुन नसकेको भनी आलोचित हुने नगरमा सकारात्मक र परिवर्तननको सन्देश दिन फरक ढंगले भव्यताका साथ स्थापना दिवस मनाइएको उज्यालो अभियानसँग बताए । उनका अनुसार नगरको स्थापना दिवसका अवसरमा बिहीबार आधा दर्जन भन्दा बढी कार्यक्रम गरिएको छ ।

सुरुमा बिहान नगरपालिका कार्यालयबाट नगरपरिक्रमासहितको ¥याली निकालियो । त्यसपछि वडा नं. ९ मा रहेको जनसागर पोखरीमा डुंगा (बोट) को उद्घाटन गरिएको छ ।

पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन ४ वटा डुंगा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए । त्यसपश्चात जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल खेलाइयो ।

त्यसलगत्तै मलंगवाको तीनेबिघे मैदानमा मन्चको कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगरपालिकाको आफ्नै लोगो सार्वजनिक गरिएको छ ।

अब नगरपालिकाको लेटरप्याड लगायतमा एकातिर नेपाल सरकारको लोगो र अर्कातर्फ नगरपालिकाको लोगो राखिने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । यस्तै, मलंगवा स्मारिका नामक पुस्तक विमोचन गरिएको छ । सो पुस्तकमाथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समिक्षा गरे ।

यस्तै, माटोको गाग्रो फुटाउने कार्यक्रम गरिएको छ । जसमा नगरवासी एवं पत्रकार बक्तियार अली पहिलो भएका छन् ।

यसैगरी नगरपालिकाले उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहयोगी रामनारायण बेल्दार, स्वीपर दर्शन मेस्तर, महिला स्वास्थ्य स्वयंसेविका मन्जु श्रेष्ठ, मलंगवा नै निवासी नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी गुल्सन झा, पत्रकार मनोज यादव र नेत्रज्योति संघलाई योगदानको कदर गर्दै सम्मान गरेको छ । यसैगरी विद्यार्थीबीच हाजिरी जवाफ, शिक्षकबीच निवन्ध र महिला स्वास्थ्यकर्मीबीच म्युजिकल चेयर प्रतियोगितामा प्रतिस्पर्धा गराई पुरस्कार वितरण गरिएको छ ।

मलंगवाका मेयर नागेन्द्रप्रसाद यादवको अध्यक्षता, पूर्वमन्त्री रामचन्द्र रायको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य कौशलकिशोर रायको विशिष्ठ आतिथ्यतामा नगरपालिकाले ३६ औँ स्थापना दिवस भव्यताका साथ मनाएको हो । नगरको स्थापना दिवसकै अवसरमा बिहीबार नगरपालिकाभित्र सार्वजनिक बिदा दिइएको थियो ।