सर्लाहीबाट सरुवा भएका एसपी प्रविण पोखरेल (बायाँ) र नयाँ आउन लागेका एसपी नरेश राज सुवेदी ।
मलंगवा, पुस ४ – सर्लाहीका प्रहरी प्रमुख फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले सोमबार २३ जना एसपीको एकैसाथ काज सरुवा गर्दा सर्लाहीका एसपी पनि फेरिएका हुन् ।
यहाँका एसपी प्रवीण पोखरेलको जिल्ला प्रहरी परिसर ललितपुरमा काज सरुवा भएको छ । पोखरेल गएको बर्ष चैत २० गते जिल्ला प्रहरी कार्यालय मलंगवामा हाजिर भएका थिए ।
सर्लाहीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगन्ज, काठमाडौँबाट एसपी नरेशराज सुवेदीलाई पठाइएको छ । सर्लाही आउन लागेका एसपी सुवेदी इन्स्पेक्टर रहँदा २०६६ असोज ९ गतेदेखि २०६८ साउन २३ गतेसम्म इलाका प्रहरी कार्यालय हरिपुरको प्रमुखको रुपमा कार्यरत थिए । सुवेदी डीएसपी हुँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे पीएसओ समेत रहेका थिए । यसअघि सर्लाहीमा प्रमुख रहेका एसपी सन्तोष सिंह राठौरको भने महानगरीय प्रहरी कार्यालय रानिपोखरीबाट जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा काज सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले हालका एसपी पोखरेल एक/दुई दिनमा विदा भएर गएपछि नयाँ एसपी सुवेदी जिल्लामा हाजिर हुने जनायो ।