हरिपुर नगरपालिकामा भएको नमूना मतदान । (तस्बीर : नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलको फेसबुकबाट)
लालबन्दी – सर्लाहीको ५ वटा पालिकामा आज (सोमबार) नमूना मतदान सम्पन्न गरिएको छ ।
लालबन्दी, हरिवन, बागमती, हरिपुर र कविलासी नगरपालिकाको कार्यालय परिसरमा नमूना मतदान सम्पन्न गरिएको हो । मतदाता शिक्षा संचालन गर्न खटाइएका स्वयंसेविका, मतदानमा खटिने कर्मचारी र इच्छुक सर्वसाधारणलाई सहभागी गराई नमूना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेलले जनाए ।
यसअघि जिल्लाको ईश्वरपुर नगरपालिका, हरिपूर्वा नगरपालिका, चन्द्रनगर, ब्रम्हपुरी र पर्सा गाउँपालिकामा पनि नमूना मतदान गराइएको थियो । बाँकी १० वटा पालिकामा पनि क्रमैसँग नमूना मतदान गराइने जिल्ला निर्वाचन अधिकारी पोख्रेलले बताएका छन् ।
मंसिर ४ को निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले २० वटै पालिकाको केन्द्रमा नमूना मतदान कार्यक्रम राखिएको हो । जिल्ला निर्वाचन कार्यालयले २० पालिकाका २०० वटै वडामा महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।