logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको चारवटै क्षेत्रमा मतदान अधिकृतको प्रशिक्षण सकियो


  • उज्यालो अभियान

लालबन्दी, कात्तिक २६ – सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबारबाट प्रशिक्षण दिएर सकिएको छ ।

शनिबार अन्तिम दिन क्षेत्र नं. १ का मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण प्रदान गरिएको हो । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा आयोजित प्रशिक्षणमा क्षेत्र नं. १ को ७८ वटा मतदानस्थलअन्तर्गत रहेका १५३ मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका क्षेत्र नं. १ का निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्यायले उज्यालो अभियानसँग बताए ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, अन्य सुरक्षा अधिकारी, निर्वाचन अधिकृतलगायत भएर निर्वाचनका सम्वन्धमा प्रशिक्षण प्रदान गरेका हुन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन कसरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने ? भनी प्रशिक्षण प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

चारवटै निर्वाचन क्षेत्रमा तीन/तीन जना जगेडा मतदान अधिकृतलाई पनि प्रशिक्षणमा सहभागी गराइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्मल पोख्रेलले जानकारी दिए । मंसिर ४ को निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र त्यसअन्तर्गत ६०० मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै, जिल्लामा तीनवटा अस्थायी मतदान स्थल तोकिएका छन् । एउटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, पाँच जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटिने छन् ।

चारवटै निर्वाचन क्षेत्रमा गरी चार हजार ८०० सय कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले उज्यालोसँगको कुराकानीमा बताए । मतदान केन्द्रमा खटिने कर्मचारीलाई आइतबारबाट नियुक्ती पत्र दिइ मतदान केन्द्र तोकेर पठाइने बताइएको छ ।

मतदान अधिकृतलाई मंसिर १ गते नै मतदान केन्द्रमा पुगेर मतदानको तयारी अघि बढाउन निर्देशन दिइएको छ । सर्लाहीमा चार लाख ७९ हजार ३८ जना मतदाता रहेका छन् ।

यहाँ चार जना प्रतिनिधि सभा सदस्यका लागि ६९ जना र आठ जना प्रदेश सभा सदस्यका लागि १३३ जना चुनावी मैदानमा रहेका छन् ।