logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

हरिवनकाे ज्येष्ठ नागरिक आवास भवन मानव सेवाश्रमलाई दिइने


  • उज्यालो अभियान

हरिवन-१ कैलाशपुरीमा निर्मित ज्येष्ठ नागरिक आवास भवन । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले वडा नं. १ कैलाशपुरीमा निर्माण भएको ज्येष्ठ नागरिक आवास भवन तत्कालका लागि मानव सेवाश्रमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले तीन करोड ६२ लाख रुपैयाँ खर्चेर एक वर्षअघि नै निर्माण पूरा गरेको सो भवन भदौ २५ गते मात्रै नगरपालिकाले बुझेको थियो । सो भवन मानव सेवाश्रमको भवन निर्माण नहुन्जेल आश्रमलाई प्रयोग गर्न दिने हरिवन नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय भएको हो ।
कम्पाउण्डसहित निर्माण गरिएको सुविधासम्पन्न भवनमा १८ कोठा छन् । मानव सेवाश्रम हाल हरिवन नगरपालिका–९, नयाँरोडमा भाडाको घरबाट संचालन भइरहेको छ ।
आश्रमले घरभाडा, बिजुली, पानी गरेर मासिक ५० हजार रुपैयाँको हाराहारीमा बुझाउँदै आइरहेको आश्रमकी संयोजक सम्झना अधिकारीले जानकारी दिईन् । आश्रममा हाल सहाराबिहीन ६० जनालाई उद्धार गरेर ल्याइ पालनपोषण तथा औषधि उपचार गरेर राखिएको छ ।
मानव सेवाश्रमको हरिवन नगरपालिका-९ मा आफ्नै भवन निर्माण भइरहेको छ । सो भवन निर्माण पूरा नहुन्जेल कैलाशपुरीको ज्येष्ठ नागरिक भवनमा मानव सेवाश्रम राख्ने निर्णय गरिएको नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले बताए ।
आश्रमकी संयोजक अधिकारीले नगरपालिकाले प्रदान गर्न लागेको भवनमा बुवाआमाका लागि खाना खानका लागि ट्रष्ट हालेर डाइनिङ निर्माणलगायत अन्य काम गरेर त्यहाँ सर्ने बताईन् ।