बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाले महिलाको हक अधिकारका लागि योगदान पुर्याउने महिला अधिकारकर्मी तथा अगुवालाई सम्मान गरेको छ ।
हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर शुक्रबार नगरपालिकाकै प्रागंणमा महिलाको योगदानका लागि टेवा पुर्याउनेहरुलाई खादा ओढाई प्रशंसा पत्र दिएर सम्मान गरिएको हो । मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रंजितादेवी चौधरी, प्रमुख प्रशाकीय अधिकृत हीराकाजी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच, हरिपुर स्थित ग्रामीण नारी उत्थान संघ र शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागी भएकालाई चिठ्ठामार्फत साडी, सेम्पु, पोते, रिचार्ज कार्ड लगायतका सामग्री प्रदान गरिएको छ । ग्रामीण नारी उत्थानकी अध्यक्ष गोपादेवी न्यौपाने र शिवशक्तिका अध्यक्ष पुरुषोत्तमप्रसाद काफ्लेको संयुक्त अध्यक्षता तथा हरिपुरका नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको संस्थाका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए । यसैबीच शुक्रबार नै हरिवन बचत तथा ऋण सहकारी संस्था चापिनीले पनि आफ्ना महिला शेयर सदस्यहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेकाे छ ।