सुरक्षाकर्मीको घेरामा रहेका बालक हत्या आरोपमा पक्राउ परेका सातजना अभियुक्त । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)

मलंगवा – आठ वर्षीय बालकको हत्या आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवाले जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।
शुक्रबार जिल्ला अदालतबाट अपहरण तथा शरिर बन्धक बनाई कर्तव्य ज्यान मुद्धामा मलंगवा नगरपालिका–१२ गम्हरिया टोलाका ६० वर्षीय जगदिश बडही, जगदिशका छोरा २१ वर्षीय कृष्ण ठाकुर, कृष्णकी श्रीमती १८ वर्षीया निरुता शर्मा, सोही स्थान बस्ने २५ वर्षीया संगिता बडही, करियकवा भन्ने सुनिल ठाकुर बडही, ५० वर्षीय नेवा ठाकुर र मलंगवा–११ निवासी ३१ वर्षीय राकेश ठाकुर विरुद्ध थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
गत चैत २० गते राती ८ बजे आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा हराएका मलंगवा निवासी दिपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको विहिबार बिहान जगदिश बडहीको घरको सौचालयको सेफ्टी ट्यांकीभित्र बोरामा पोको पारेर फालेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदिश बडही सहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
मृतक बालकको घरदेखि उत्तर एक घर छोडेर जगदिश बडहीको घर रहेको छ । यही घरको उत्तर कुनामा रहेको सेफ्टी ट्यांकीबाट बालकको शव निकालिएको थियो ।
विहिबार बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको छोराको शव देख्ने बितिकैदेखि मृतक बालककी आमा महासुन्दर ठाकुर भावविह्वल छिन् । पटक–पटक अचेत भईरहेकी उनलाई आफन्त एवं छिमेकीले पानी खुवाउने लगायत सम्हाल्ने काम गरिरहेका छन् ।
यो पनि पढ्नोस्
१० वर्षीय बालकको हत्या : छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला पर्यो
छोरा वेपत्ता भएको खबर सुनेपछि वैदेशिक रोजगारीका सिलसिलामा बहराईनमा रहेका मृत बालकका बुबा दीपेन्द्र छोरा बेपत्ता भएको खबर सुन्ने बितिकै घर फर्केका छन् । जीतेन्द्रका आकाश जेठा छोरा हुन् भने कान्छा छोरा १ वर्षका तथा दुई छोरीहरु रहेको पारिवारिक स्रोतले जनाएको छ ।
प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुर सहित उनको परिवारका सदस्य एवं अन्य केही छिमेकी गरेर सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाएको छ । जगदिशका परिवारले बालकलाई बन्धक बनाएर चैत २० गते राती नै आफ्नै घरको माथिल्लो तलाको दक्षीणतर्फको कोठामा हत्या गरेको र बोराभित्र राखेर सेफ्टी ट्यांकी भित्र लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।
अभियुक्तहरु मध्ये कसैले मृतक बालकका मामालाई म्यासेञ्जरमा १५ लाख रुपैंया माग गरेको समेत देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने प्रनाउ बुढाथोकीले जानकारी दिए ।
नोट : यसअघि ‘१० वर्षीय बालकको हत्या ः छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला पर्यो’ भन्ने शिर्षक समाचारमा मृतक बालक मिठु भन्ने आकाश ठाकुरको उमेर तथा बुबाको नाम अन्यथा पर्न गएको हुँदा क्षमाप्रार्थी छौ । – उज्यालो अभियान मिडिया नेटवर्क प्रा.लि. परिवार