सर्लाही जिल्लाकाे नक्शा ।
हरिवन – सर्लाहीको जनसंख्या साँढे ८ लाख भन्दा बढी पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक जनसंख्या अनुसार सर्लाहीको जनसंख्या ८ लाख ५७ हजार ३६० पुगेको हो ।
देशभरमा महिलाको जनसंख्या बढी भएपनि सर्लाहीमा भने पुरुषको जनसंख्या धेरै देखिएको छ । सर्लाहीमा पुरुषको जनसंख्या ४ लाख ३३ हजार ३८२ र महिलाको जनसंख्या ४ लाख २३ हजार ९७८ पाइएको छ । २०६८ सालमा जनगणना गर्दा जिल्लाको जनसंख्या ७ लाख ६९ हजार ७२९ रहेको थियो । १० वर्षमा जिल्लाको जनसंख्या ८७ हजार ६३१ ले बढेको छ । जिल्लाको जनसंख्या वार्षिक रुपमा १ दशमलब ०३ प्रतिसतले वृद्दि भइरहेको पाइएको छ ।
त्यस्तै, सर्लाहीका २० वटा पालिकाहरुमध्ये सबैभन्दा बढी जनसंख्या बरहथवा नगरपालिकामा छ भने सबैभन्दा कम पर्सा गाउँपालिकामा रहेको पाइएको छ । बरहथवा नगरपालिकाको जनसंख्या ८३ हजार २५७ पुगेको छ । पर्सा गाउँपालिकाको जनसंख्या जिल्लाभरकै कम २४ हजार ३९ रहेकाे पाइएको छ । बरहथवा नगरपालिका जिल्लाभरकै सबैभन्दा बढी वडा भएको नगरपालिका पनि हो । बरहथवामा १८ वटा वडा रहेका छन् ।
बरहथवापछिको बढी जनसंख्या ईश्वरपुर नगरपालिकामा रहेको छ । ईश्वरपुरको जनसंख्या ६८ हजार ६२६ पुगेको छ । लालबन्दीको जनसंख्या ६७ हजार ५९७, गोडैता नगरपालिकाको जनसंख्या ५४ हजार ३४६, मलंगवा नगरपालिकाको जनसंख्या ५३ हजार २०४, हरिवन नगरपालिकाको जनसंख्या ५१ हजार ३३३, बलरा नगरपालिकाको जनसंख्या ४७ हजार ६०२, बागमती नगरपालिकाको जनसंख्या ४५ हजार ४५९, कविलासी नगरपालिकाको जनसंख्या ४४ हजार ६८८, हरिपुर नगरपालिकाको जनसंख्या ४३ हजार ६०९ र हरिपूर्वा नगरपालिकाको जनसंख्या ३६ हजार ५२३ पुगेको छ ।
त्यसैगरी गाउँपालिकाहरुतर्फ चन्द्रनगर गाउँपालिकाको ३७ हजार ५१७, चक्रघट्टा गाउँपालिकाको २९ हजार १६६, ब्रम्हपुरी गाउँपालिकाको २७ हजार ८७८, बसबरिया गाउँपालिकाको २६ हजार ४०६ जनसंख्या पुगेको छ । त्यसैगरी धनकौल गाउँपालिकाको २८ हजार ५००, कौडेना गाउँपालिकाको २९ हजार २२६, पर्सा गाउँपालिकाको २४ हजार ३९ र रामनगर गाउँपालिकाको जनसंख्या ३१ हजार ६८७ पुगेको छ ।