ईश्वरपुर – प्रहरी गस्तीमा हिँडेकाे भ्यानकाे ठक्करबाट एक व्यवसायीकाे मृत्यु भएपछी आक्राेशित एक समूहले प्रहरीकाे जिपमा आगाे लगाईदिएकाे छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेकाे स्थानीयले बताएका छन् ।


आक्राेशित एक समूहले साेमबार दिउँसाे ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेकाे बा. १ झ ७४८२ नम्बरकाे ईलाका प्रहरी कार्यालय हरिपुरकाे जीपमा आगाे लगाईदिएकाे हाे । प्रहरी टाेलीले आगाे नियन्त्रणमा लिएपनि जीपकाे अधिकांश भाग जलेर नष्ट भएकाे छ । ईश्वरपुर नगरपालिका–७ मा ईलाका प्रहरी कार्यालय केशरगंजकाे गस्तीमा हिँडेकाे भ्यानले आईतबार राती ९ बजेतिर ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ निवासी रामकुमार महतोको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाईते उनकाे उपचार गर्दागर्दै राती नै मलंगवा अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । महताेले चलाएकाे ना. ४३ प ५०१८ नम्बरकाे माेटरसाईकल ट्रकलाई आेभरटेक गर्ने क्रममा प्रहरीकाे भ्यानमा आफै ठाेक्किएकाे जिल्ला प्रहरी कार्यालयकाे दाबी छ । तर प्रदर्शनकारीहरुले भने राती नै भएकाे घटना प्रहरीले लुकाएकाे आराेप लगाएका छन् । वार्तामा बसेका मृतक पक्ष अहिले बाहिरिएका छन् ।
घटनाकाे विराेधमा साेमबार बिहानैबाट स्थानीयबासी तथा व्यापारीहरुले बयलबास बजार बन्द गरेर ईलाका प्रहरी कार्यालय घेराउ एवं टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरु मध्यकै एक समूहले नगरपालिका कार्यालयकाे कम्पाउण्ड भित्रै राखिएकाे प्रहरीकाे जीपमा आगजनी गरेका हुन् । प्रदर्शन बढ्दैगएपछि ईश्वरपुर प्रहरीलाई थप मद्दत गर्न ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बेदबहादुर पाैडेल नेतृत्वकाे टाेली त्यता गएकाे थियाे । ईलाका प्रहरी कार्यालय केशरगंजकाे गेटमा सयाैंकाे संख्यामा प्रदर्शनकारी रहेकाले हरिपुरकाे टाेलीले नगरपालिका कार्यालयकाे कम्पाउण्ड भित्र आफ्नाे जीप राखेकाे थियाे ।
प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछि ईश्वरपुर बजार तनावग्रस्त
ईश्वरपुरमा साेमबार बिहानैदेखि ईलाका प्रहरी कार्यालय बरहथबाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरी लगायत नेतृत्वकाे टाेली समेत परिचालन गरिएकाे छ । त्यस्तै सशस्त्र प्रहरी बलकाे समेत दर्जनाैं सुरक्षाकर्मी खटाईएकाे छ ।