ईलाका प्रहरी कार्यालय केशरगंजको मूलगेटमा सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका व्यवसायीहरुको भिड । (तस्बिर : उज्यालो अभियान)
ईश्वरपुर – सर्लाहीको ईश्वरपुर स्थित ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले ठक्कर दिँदा आईतबार राती एक व्यवसायीको मृत्यु भएको छ । घटनाको विरोधमा बयलबास बजारका व्यापारीहरुले आज (सोमबार) विहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
बयलबास बजार पूर्ण रुपले बन्द गरिएको छ । प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय केशरगंज अगाडी टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । उद्योग वाणिज्य संघ ईश्वरपुरको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
ईश्वरपुर नगरपालिका–७ मा प्रहरीको भ्यानले राती ९ बजेतिर ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ निवासी रामकुमार महतोको मृत्यु भएको हो । ठक्करबाट गम्भिर घाईते महतोको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
महतोलाई गस्तीमा हिँडेको प्रहरी भ्यानले ईश्वरपुर नगरपालिका कार्यालय भन्दा दक्षिण पट्टी ठक्कर दिएको हो। ईश्वरपुर नगरपालीका–६ बयलबास बजारमा फेन्सी पसल संचालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगरतर्फ मोटरसाईकलमा जाँदै दुर्घटनामा परेका थिए । स्थानीयबासी एवं व्यवसायीहरु भने प्रहरीले घटना लुकाउने खोजेको आरोप लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका छन् । राती नै भएको घटना लुकाएर महतोको मृत्यु भएपछि प्रहरीले बिहानमात्र आफन्तलाई जानकारी दिएको भन्दै ब्यवसायीहरु आक्रोशित बनेका छन् ।
यता प्रहरीले भने दुर्घटना हुने बितिकै घाईतेलाई उपचारका लागि मलंगवा अस्पताल ल्याईएको बताएको छ । ‘तिब्र गतिमा रहेको मोटरसाईकल आफै हाम्रो गस्तीमा हिँडिरहेको गाडीमा आएर ठोक्किएको हो, हाम्रो टोलीले तत्काल घाईतेलाई उपचारका लागि मलंगवा ल्याएपनि उपचार गर्दागर्दै उहाँको मृत्यु भयो’, प्रनाउ बुढाथोकीले भने, ‘घटना लुकाउने भए त हाँमीले अर्कै गाडीले ठक्कर दिएको अवस्थामा फेला पार्यौं भनि हाल्थ्यौं नि, साथमा कुनै परिचय पत्र वा अन्य कागजात नभएको र मोबाईल समेत स्क्रिन लक भएकाले नाम, थर वतन पत्ता लगाउन सकिएन, एकैचोटी बिहान उहाँकी श्रीमतिको फोन आएपछि मात्र घटनाबारे जानकारी गराउन पायौं ।’ मोबाईल सेटमा भएको सिम अर्को सेटमा राखेर चलाउन खोजेपनि सिममा एउटा पनि नम्बर सेभ नभएको पाईएपछि कसैलाई खबर गर्नै नसकिएको प्रनाउ बुढाथोकीले दाबी गरे ।