मलंगवा – ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार बिहान विविध कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला न्यायधिवक्ता रिद्धिनाथ निरौला, नेपाली सेनाका प्रमुख सेनानी अभिषेक कार्की, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख उप–निर्देशक श्री दिलिप सिंह, शान्ति महिला सेवा केन्द्र सर्लाहीकी प्रमुख बनिता कार्की लगायतको आतिथ्यथा रहेको थियो । प्रहरी नायव उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधब प्रसाद बुढाथोकीको स्वागत रहेको कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पठाएको संदेश वाचन गरिएको थियो ।
कार्यक्रममा बिर अमर प्रहरी प्रति १ मिनेट मौनधारण तथा प्रमुख अतिथि, अतिथि सहित कार्यक्रममा उपस्थित सम्पूर्ण उपस्थितले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए । कार्यक्रमकै अवसरमा प्रजिअ महतो र नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौरले लामो समय सम्म नेपाल प्रहरीमा आवद्ध रही देश र जनताको सेवामा आफ्नो उर्जावान, गतिशिल जीवन समर्पित गरी राष्ट्र, संगठन र जनतालाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै प्रहरी परिवारको ज्येष्ठ सदस्यको रूपमा ८७ बर्षीय पूर्व प्रहरी सहायक निरीक्षक बुद्धि प्रसाद उपाध्यायलाई संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा प्रदत्त कदर–पत्र प्रदान एवं दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा अमरत्व प्राप्त गर्ने पूर्व प्रहरी कर्मचारीका परिवारलाई समेत खादा ओढाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत कार्यालयहरूबाट उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकी सहित प्रहरी अधिकृत तथा जवानहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत शान्ति सुरक्षा एवं अपराध अनुसन्धानमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । सम्मान, पुरस्कार एवं प्रशंसा पत्र वितरण पश्चात सो कार्यक्रमका प्रमुख अतिथि प्रजिअ महतोले शुभकामना मन्तव्य व्यक्त व्यक्त गरेका थिए । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले धन्यवाद ज्ञापन गरेको कार्यक्रम जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले सञ्चालन गरेका थिए ।
प्रहरी दिवसको अवसरमा गत आईतबार जिल्ला प्रहरी कार्यालय मलंगवा सहित मातहतका ५६ वटै प्रहरी युनिटहरूमा बृक्षारोपण कार्यक्रम गरिएको थियो भने मंगलबार जिल्ला भित्र रहेका विभिन्न मन्दिरहरूमा सरसफाई कार्यक्रम गरिएको थियो । प्रहरी दिवसकै अवसरमा बुधबार र बिहिबार साँझ जिल्ला स्थित सम्पूर्ण प्रहरी कार्यालयमा दिप प्रज्वलन कार्यक्रम रहेको छ ।