logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीका ६ जनाले पाए सरकारी विभूषण


  • उज्यालो अभियान

हरिवन – सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभूषण मध्ये यसवर्ष सर्लाही घर भएका एकजना कलाकार तथा सर्लाहीमा कार्यरत ५ जना राष्ट्रसेवक कर्मचारी विभूषित भएका छन् ।

लालबन्दी स्थित उष्ण प्रदेशीय वागवानी विकास केन्द्रका प्रमुख वरिष्ठ वागवानी विकास अधिकृत पदम प्रसाद अधिकारी र जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत राजकुमार थापाले प्रवल जनसेवा श्री पदक प्राप्त गरेका हुन् । थापा सर्लाहीकै हरिवन निवासी हुन् । त्यस्तै सर्लाहीकै बरहथवा नगरपालिका अन्तर्गत हजरिया घर भई हाल राष्ट्रिय रुपमा चर्चित हाँँस्य कलाकार जोगेन्दर पान वाला उर्फ शिवशंकर रिजालले जनसेवा श्री पदक प्राप्त गरेका छन् । त्यस्तै नेपाली सेना भैरवी दल गण पाँचकुमारीमा कार्यरत तीनजनाले प्राकृतिक प्रकाेप विपताेद्वार पदक प्राप्त गरेका छन् । उक्त गणका जमदार धिरेन्द्र यादव, हुद्दा लंकमान तामाङ र प्युठ रामबहादुर नेपालीले उक्त पदक प्राप्त गरेका हुन् ।

त्यस्तै केही समयअघि मात्र नेपाली सेनाको पाँचकुमारी स्थित तत्कालिन रणशेर गणको गणपति रहेका प्रमुख सेनानी मिनराज तिवारी र ईलाका प्रहरी कार्यालय हरिवनको प्रमुखको रुपमा जिम्मेवारी निर्बाह गरेका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले पनि प्रवल जनसेवा श्री पदक प्राप्त गरेका छन् । प्रसे तिवारी हाल नेपाली सैनिक वार कलेज तथा प्रनि उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवाले विभिन्न पदकद्वारा विभूषित गर्नका लागि सर्लाहीबाट राष्ट्रसेवक, समाजसेवी लगायत ६ जनाको नाम सिफारिस गरेको थियो । उक्त सिफारिस मध्ये प्रशासकीय अधिकृत थापा एकजनाले मात्र पदक प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । वरिष्ठ वागवानी विकास अधिकृत अधिकारी र हाँस्य कलाकार रिजाल भने केन्द्रबाटै विभूषितमा परेका हुन् । सर्लाहीबाट पदक एवं विभूषण प्राप्त गर्नेमा तीनजना रहनु भएको आफूलाई जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी भूमेश्वर पोखरेलले जानकारी दिए ।

देश र जनताका लागि उल्लेखनीय कार्य गरेको भन्दै सरकारले हरेक संविधान दिवसका दिन राष्ट्रसेवक, राजनीतिकर्मी, संचारकर्मी, समाजसेवी, कानून व्यवसायी, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी लगायतलाई विभिन्न विभूषण प्रदान गर्ने गर्दछ । सरकारले यसवर्ष ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदकद्वारा ९०३ जनालाई सम्मान गर्ने घोषणा गरेको छ ।

सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच पदक प्रदान गर्ने छिन् । कतिपयले भने विभूषित हुने भनेर नाम सार्वजनिक भएलगतै धमाधम विभूषण र पदक नलिने घोषणा गरिरहेका छन् । नेपाल सरकार गृह मन्त्रालयले आज (आईतबार) को गोरखापत्र दैनिकमा विभूषित हुनेहरुको नामावली प्रकाशित गरेको छ ।

(पुन: सच्याईएकाे)