logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीका मेयर–उपमेयरले खाए स्काउटको ड्रेसमा सपथ


  • उज्यालो अभियान

नेपाल स्काउटको सपथ ग्रहण गर्दै सर्लाही स्थित विभिन्न पालिकाका मेयर एवं अध्यक्ष सहित जनप्रतिनिधि एवं स्काउटका प्रतिनिधिहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीका विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरुले शनिबार नेपाल स्काउटको सपथग्रहण गरेका छन् ।

हरिवनस्थित सम्राट होटल एण्ड पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमबीच पालिका प्रमुखहरुले स्थानीय स्काउट समितिको संरक्षक, उपप्रमुखहरुले प्रमुख स्काउट सदस्य र शिक्षा शाखाका प्रमुखले सदस्य सचिवको रुपमा दीक्षान्त भई पद तथा गोपनीयताको सपथ लिएका हुन् । नेपाल स्काउटको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, मलंगवा नगरपालिकाका मेयर निरसल साह, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, हरिपुर नगरपालिकाका मेयर जमरुदिन मन्सुर, बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या राय, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष बिक्रम यादव सहित विभिन्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । सँधै कोट पाईन्ट वा कुर्ता पाईजामा लगायत पोशाकमा देखिने मेयर/अध्यक्षलाई नेपाल स्काउटको ड्रेसमा भने निकै फरकपन देखिएको थियो ।

नेपाल स्काउटको सपथ ग्रहण गर्दै सर्लाही स्थित विभिन्न पालिकाका उपमेयर एवं उपाध्यक्ष सहित जनप्रतिनिधिहरु । (तस्बिर : उज्यालो अभियान)

नेपाल स्काउट हरिवन नगर समितिको आयोजना रहेको कार्यक्रम नेपाल स्काउट प्रदेश समितिका संयोजक सरोजकुमार यादवको अध्यक्षता एवं नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय निर्देशक रामप्रसाद भट्टराई, राष्ट्रिय तदर्थ समिति सदस्य वीरेन्द्र ध्वजु, राष्ट्रिय प्रशिक्षक देवेन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको प्रदेश सदस्य नारायणबहादुर कार्कीले जानकारी दिए । हरिवन नगरपालिका कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा नेपाल स्काउट हरिवन नगर तदर्थ समितिका संयोजक सुबास घिमिरेको स्वागत एवं पुष्कर बुढाथोकीको सञ्चालन रहेको थियो ।

कार्यक्रममा उपस्थित पालिका प्रमुख एवं उपप्रमुखहरु तथा नेपाल स्काउटका प्रतिनिधि सहित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

नेपाल स्काउटलाई चलायमान बनाउनका लागि पछिल्लो समय संघीय सरकारले स्थानीय सरकारका प्रमुख, उपप्रमुख र शिक्षा शाखा प्रमुखलाई नै जिम्मेवार बनाएकाले सपथ गराईएको स्काउटका राष्ट्रिय निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिए । केही वर्षदेखि सुस्ताएको नेपाल स्काउटलाई अब चलायमान बनाईने समेत उनले बताए ।