logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पत्रकारिताका नाममा धम्क्याउने प्रवृत्ति बढेकाे सर्लाहीका सराेकारवालाहरुकाे गुनासाे


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार दिउँसाे आयाेजित कार्यक्रममा सराेकारवालाहरुले पछिल्लाे समय पत्रकारहरुले समाचार लेख्ने बहानामा सबैतिर धम्क्याउने लगायत विकृत्ति बढेकाे गुनासाे गरेका छन् ।

कार्यक्रममा बाेल्दै नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले दुई सय रुपैंयाकै लागि पत्रकारहरुले समाचार लेखिदिन्छु भन्दै धम्क्याउने प्रवृत्ति बढ्दै गएकाे गुनासाे गरे । पछिल्लाे समय सर्लाहीका पत्रकारहरुकाे काम गर्ने शैली हेर्दा पत्रकारिताका नाममा पित पत्रकारिता बढ्दै गएकाे उनकाे धारणा थियाे । त्यस्तै पत्रकारिता क्षेत्रकाे हकहित एवं उत्थानका लागि जिल्ला स्थित सबै सराेकारवालाले गम्भीर भएर साेच्नुपर्ने सहभागिहरुले धारणा राखे ।

मलंगवास्थित जिल्ला समन्वय समितिको सभाहलमा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष समेत रहेका फ्रि-मिडिया नेटवर्क सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा आयाेजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुकाे त्यस्ताे धारणा आएकाे हो । महासंघ अध्यक्ष क्षेत्रीकाे अध्यक्षता रहेकाे १५ सदस्यीय नेटवर्कमा मलंगवा नगरपालिकाकी उपमेयर शान्ति भन्ने शवनम मिकरानी, जिल्ला समन्वय समितिका सदस्य विद्यानन्द पण्डत, सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद बुढाथोकी, सशस्त्र प्रहरीका डीएसपी सरोजसिंह खड्का, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, गैर सरकारी संस्था महासंघका अध्यक्ष शिवजी साह, नेपाल बार एशोसिएसनमन अध्यक्ष राम नरेश चौधरी, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष वीरेन्द्र साह, महिला अधिकारकर्मी रम्भा झा, तराई मानव अधिकार रक्षक संजालका अध्यक्ष मुकेश मिश्र, चक्रघट्टा गापाकी कार्यपालिका सदस्य सुशिला ठाकुर, पत्रकार महासंघका पूर्व अध्यक्षद्वय कृष्णकुमार एस्माली र शंकर श्रेष्ठ सदस्य रहेका छन् ।

मानव अधिकार संचार प्रतिष्ठान नेपाल काठमाडाैंको आयोजनामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यक्रम संयाेजक निराजन नेपालीले फ्रि-मिडिया नेटवर्क गठनकाे उद्देश्य तथा गर्नुपर्ने कामका बारेमा प्रश्ट्याएका थिए । कार्यक्रममै महासंघ सर्लाही अध्यक्ष एवं फ्रि-मिडिया नेटवर्कका अध्यक्ष क्षेत्रीले सर्लाहीकाे पत्रकारिताकाे अवस्था, काेराेना भाईरस लगायत विविध समस्याले संचार प्रतिष्ठान र पत्रकारलाई पारेकाे असर, पत्रकारद्वारा आचार संहिता पालना लगायत बारेमा संक्षिप्त कार्यपत्र प्रस्तुत गरेका थिए । पत्रकार महासंघ सर्लाहीका सचिब सुनिल ठाकुरको सञ्चालन रहेको कार्यक्रममा पत्रकारिता क्षेत्रकाे उत्थान एवं समस्या सम्बाेधन सहित पत्रकारिता क्षेत्रलाई जिम्मेवार एवं जवाफदेहि बनाउन सबै पक्षले गम्भीर भएर लाग्नुपर्ने सहभागी सबै सदस्यहरुकाे धारणा थियाे । 

प्रतिष्ठानका कार्यक्रम संयाेजक नेपालीका अनुसार सर्लाहीका संचार प्रतिष्ठान एवं पत्रकारहरुलाई आईपरेका विविध समस्या सम्बाेधन गराउन सामुहिक पहलकदमी चाल्ने, संचार प्रतिष्ठान एवं पत्रकारहरुकाे हकहित सहित जिम्मेवार एवं जवाफदेहि बनाउने लगायत कार्यका लागि जिल्ला स्थित सराेकारवाला सरकारी एवं गैर सरकारी निकायका जिम्मेवार अधिकारीहरुकाे सहभागितामा फ्रि-मिडिया नेटवर्क गठन गरिएकाे हाे । मानव अधिकार संजाल प्रतिष्ठानकाे आयाेजना एवं फ्रि मिडिया नेटवर्क सर्लाहीकाे सहकार्य रहेकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय र ईन्टरनेशनल अलर्ट साझेदार संस्था रहेका छन् भने युराेपियन युनियनकाे सहयाेग रहेकाे छ ।