पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता सुरेन्द्र पाण्डे । (तस्बिर : उज्यालो अभियान)
बागमती – नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्व मन्त्री सुरेन्द्र पाण्डेले बृद्ध भत्ता जस्ता वितरणमुखी कार्यक्रमले देशको अर्थतन्त्रमा ठूलो असर पार्ने बताएका छन् ।
शुक्रबार दिउँसो सर्लाहीको बागमती स्थित सिता प्यालेस होटलमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका नेता पाण्डेले सस्तो लोकप्रियताका लागि वृद्ध भत्ता जस्ता वितरणमुखी कार्यक्रमहरु बढाउदै लगिए मुलुकले ठूलो नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिए । ‘सस्तो लोकप्रियताका लागि वृद्ध भत्ता जस्ता वितरणमुखी कार्यक्रमहरुलाई बढावा दिनु भनेको भोलिका दिनमा मुलुकको अर्थतन्त्रमा निकै असर गर्ने कुराहरु हुन्’, एमालेले आफ्नो लोकप्रिय कार्यक्रम भनेर प्रचारबाजी गर्दै आएको वृद्ध भत्ता लगायत कार्यक्रमप्रति टिप्पणी गर्दै सोही पार्टीका प्रभावशाली नेता पाण्डेले भने, ‘रोजगारमुखी र उत्पादनमुखी कार्यक्रमहरुमा ध्यान नदिए भोलिका दिनमा कर्मचारीलाई तलब नै दिन नसक्ने अवस्था आउन सक्छ, त्यसैले सस्तो लोकप्रियता भन्दापनि मुलुक र जनताको हितलाई सर्बोपरि सम्झिनु पर्छ ।’ हाल देशको व्यापार घाटा उच्च बिन्दुमा पुगेको बताउदै नेता पाण्डेले यसलाई कम गर्न उत्पान मुखि कार्यक्रममा जोड दिनुपर्ने बताए ।
आफ्नै पार्टीका भएपनि प्रधानमन्त्री केपी ओलीले दम्भ र उन्माद देखाउँदा सत्ताबाट बाहिरिनु परेको नेता पाण्डेको भनाई थियो । ‘पृथ्वीनारायण शाहकै पालादेखि सत्तामा पुग्ने वितिकै आफ्नै भाई भारदारलाई अविश्वास गर्ने तथा अनेकखाले डण्डा वर्साउने गरिँदा शासकहरु ढल्दै गएको उदाहरण हाँमीमाझ प्रष्ट छ’, नेता पाण्डेले भने, ‘राणा शासन, पञ्चायत हुँदै अहिले प्रधानमन्त्री हुँदा ओलीजीले पनि आफ्नै पार्टीका नेताहरुलाई अविश्वास गरेर दम्भ र उन्माद देखाउँदा शक्तिशाली हुँदाहुँदै पनि सत्ताबाट बाहिरिनु पर्यो ।’ भाई भाई फु्टे, गवाहर लुटे भने जस्तै ओलीजीकै कारण सत्ता र शक्ति अर्कैको हातमा पुगेको नेता पाण्डेको जिकिर थियो ।
आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वास प्रस्तावको पक्षमा भोट हाल्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद् एवं संसदीय व्यवस्था विपरित भएको उल्लेख गर्दै नेता पाण्डेले यसको मुख्य कारण ओली नै रहेको दाबी गरे । कानूनी रुपमा महाधिवेशनबाट निर्वाचित एमाले नेतृत्व केपी ओली भएपनि झण्डै हाराहारी मत पाएका अध्यक्षका प्रत्यासी सहित अन्य नेताहरुलाई पूरै वेवास्ता गर्दा पार्टीले ठूलो नोक्सानी व्यहोर्नु परेको नेता पाण्डेले बताए ।
मुलुकभर एमसीसीबारे अनेकखाले चर्चा परिचर्चा रहेको उल्लेख गर्दै नेता पाण्डेले एमसीसी सदनमा लगरेर गलत भएको तर्क गरे । ‘बिगतमा एमसीसी भन्दा ठुलाठुला सहायता परियोजना सरकार आफैले स्विकारेको थियो, जसले सहयोग दिने हो उसले केही न केही त शर्तहरु राखेकै हुन्छ नि’, नेता पाण्डेले भने, ‘भारत होस वा चिन, विश्व बैंक होस वा एशियाली बिकास बैंक सबै दाताले केही न केही आफ्नो स्वार्थ जोडिने गरी शर्त राखेकै हुन्छन, एमसीसीमा पनि त्यस्ता शर्तहरु छन् नै, त्यसलाई केलाएर मुलुकको अहित हुनेगरी पास गर्नुपर्छ ।’
नेकपा एमाले अहिले गम्भिर क्षणमा रहेको उल्लेख गर्दै नेता पाण्डेले आफुहरु एकतालाई बचाउन अन्तिम प्रयासमा रहेको बताए । १० बुंदे सम्झौतालाई टेकेर अघि बढ्न सके पार्टीभित्र अहिले देखिएको बिवादको अन्त्य हुने उनको तर्क छ । अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति एवं सहकार्य नभएसम्म सग्लो एमाले नरहने समेत नेता पाण्डेले दाबी गरे ।
नेता पाण्डे शुक्रबार दिउँसै बागमती नगरपालिका अन्तर्गत तत्कालिन कर्मैया गाविसका अध्यक्ष एवं एमाले नेता स्व. शिवप्रसाद ढुंगानाको १३औं पुण्यतिथि कार्यक्रममा सहभागि भएका थिए । एमालेका तत्कालिन जिल्ला सचिब समेत रहेका वामपन्थी नेता केशव ढुंगानाका पिता स्व. ढुंगानाको १३औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा सहभागि हुन एमाले नेता पुरुषोत्तम पौडेल, जिल्ला स्थित हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर, संविधान सभासद् रंजना सरकार लगायतको दर्जनौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।