नगर प्रमुख खड्कालाई पत्र बुझाउँदै गरेका माओवादी केन्द्रका जनप्रतिनिधिहरु ।
लालबन्दी – विभिन्न योजनामा बजेटको व्यवस्था गर्न माग गर्दै आइतवार नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।
असार १५ गते पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेलाले नगर सभा संसदीय दल गठन गरेको जानकारीसहित वार्षिक नीति तथा कार्यक्रम र बजेटमा योजनाहरु समावेश गर्न नगर प्रमुख खड्कालाई पत्र बुझाएको हो ।
माओवादी केन्द्रका जनप्रतिनिधिले निर्मल लामा स्मृति प्रतिष्ठान भवन निर्माण, पार्टीको नगर सभा संसदीय दलको कार्यालय व्यवस्थापन तथा संचालन, लालबन्दी नगरपालिकाको अधूरो भवन निर्माण पूरा गर्न, वडा नं. १४ र १५ लाई संचार सुविधामा जोड्न टावर निर्माण, प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा पोष्टमार्टम सेवा संचालन लगायतका लागि बजेटको व्यवस्था गर्न माग गर्दै माओवादी केन्द्रका जनप्रतिनिधि आफैले नगरपालिकामा पत्र बुझाएका हुन् ।
आइतवार बिहान आफूसँगै पार्टीका अन्य जनप्रतिनिधिले नगर प्रमुख खड्कालाई पत्र बुझाएको लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ८ का वडाध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए ।
फोटो क्याप्सन ः नगर प्रमुख खड्कालाई पत्र बुझाउँदै गरेका माओवादी केन्द्रका जनप्रतिनिधिहरु । ( तस्बीर ः उज्यालो अभियान)