logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठको नेतृत्वमा ३५४ जनाको कोरोना परीक्षण


  • उज्यालो अभियान

लालबन्दी – नेकपा माओवादी केन्द्रले सर्लाहीका विभिन्न पाँच स्थानमा ३५४ जनाको कोरोना परीक्षण गरेको छ ।

काठमाण्डौंबाट स्वास्थ्यकर्मी लिएर आएका पार्टीका केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थितिमा सर्वसाधारणहरुको निःशुल्क कोरोना परीक्षण गरिएको हो । ३५४ जनाको परीक्षण गर्दा २७ जनामा कोरोना सङ्क्रमण पाइएको छ ।

अभियानको आज (आइतवार) दोस्रो दिन लालबन्दी नगरपालिका-१७, रानिगन्जस्थित फौदसिंह माध्यमिक विद्यालय र हरिपुर नगरपालिका-१, जानकिनगर रेन्जर टोलमा कोरोना परीक्षण तथा मरामर्श शिविर संचालन गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए । रानिगन्जको शिविरमा ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पाँच जना र जानकीनगरमा ७० जनाको परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पाइएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

शिविरमा परीक्षणका लागि आएकाहरुलाई लक्षण र स्वास्थ्य समस्याअनुसार औषधि समेत निःशुल्क वितरण गरिएको बुढाथोकीले बताए ।

पार्टीले यसअघि हिजो (शनिवार) बरहथवाको सहनी धर्मशाला, हरिवनको ताइवान बस्ती र बागमतीको कर्मैया कोभिड अस्पतालमा कोरोना परीक्षण शिविर संचालन गरेको थियो । सर्लाहीको पाँच स्थानका शिविर सकाएर पार्टी प्रवक्ता श्रेष्ठ आज (आइतवार) दिउँसो महोत्तरीको बर्दिवासतर्फ प्रस्थान गरेका छन् ।

स्वास्थ्य शिविर संचालन भएको स्थानमा प्रवक्ता श्रेष्ठसँगै पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामेश्वर राय यादव, केन्द्रीय सदस्य प्रल्हाल बुढाथोकी, अच्यूतम काफ्लेलगायतका नेताहरु सहभागी भएका थिए ।