मनिषबहादुर बुढाथोकी/लालबन्दी, ३० असोज – अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रगति विश्लेषणको आधारमा सर्लाही जिल्लाभर लालबन्दी नगरपालिका पहिलो बनेको छ ।

लालबन्दीमा हिजो बिहीबार सम्पन्न आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीमा ९४ प्रतिसत अंक प्राप्त गर्दै लालबन्दी नगरपालिका पहिलो भएको घोषणा गर्दै सम्मान गरिएको हो ।
लालबन्दी नगरपालिकालाई स्वास्थ्य कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं वरिष्ठ तथ्यांक अधिकृत लालबाबु राय, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका तथ्यांक अधिकृत सरोज यादवलगायत भएर प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, नगर अस्पताल लालबन्दीका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरी, स्वास्थ्य शाखाका प्रमुख मुमताज मिकरानी, स्वास्थ्य शाखाकै सुरेन्द्र खतिवडा, रोशन चौधरी, अमित गौतमलगायतले सम्मान ग्रहण गरेका छन् ।

स्वास्थ्य कार्यक्रमहरुको प्रगति विश्लेषणको आधारमा जिल्लाको विष्णु गाउँपालिका ९१.९ अंक प्राप्त गर्दै दोस्रो र बसबरिया गाउँपालिका ९१.३ अंक प्राप्त गर्दै तेस्रो भएका छन् ।
पालिकाहरुले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रमको अवस्था, अनलाइनमा विवरण प्रविष्टिको अवस्था, नागरिकलाई प्रदान गरिएको स्वास्थ्य सेवा, खोप कार्यक्रमलगायतका सूचकलाई मूल्यांकन गरी पालिकाहरुलाई पहिलो, दोस्रो र तेस्रो घोषणा गरी सम्मान गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं वरिष्ठ तथ्यांक अधिकृत लालबाबु रायले जानकारी दिए ।

वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रममा पहिलो बनेको लालबन्दी नगरपालिका अघिल्लो वर्ष २०८१/८२ मा पनि जिल्ला तथा मधेश प्रदेशमै समेत पहिलो बनेको थियो ।
लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले स्वास्थ्यकर्मीसहित सबैको प्रयासले लगातार दुई वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा पहिलो बन्न पाएकोप्रति खुसी व्यक्त गरेका छन् । उनले यसरी निरन्तर पहिलो हुन प्रयासरत् रहनेसमेत सुनाए ।

कार्यक्रममा जिल्लाभरका पालिकाबाट स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यको क्षेत्रका क्रियाशील संघसंस्थाका प्रतिनिधि, संचारकर्मीलगायतको उपस्थिति थियो ।
