logo
  • शुक्रबार, अशोज ३०, २०८३ / Friday, Oct, 16 ,2026

जेनजी आन्दोलनमा फरार रहेका बाबु थापा पक्राउ


  • उज्यालो अभियान

तत्कालिन् चुरे भावर राष्ट्रिय पार्टी अन्तर्गत भावर सेना गठन कार्यक्रममा कमाण्डरको रुपमा सम्बोधन गर्दै बाबु थापा । (फाइल तस्बिर)

मलंगवा, २९ असोज – जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागार जग्गनाथदेवल, सुन्धाराबाट फरार भएका बाबु थापालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार राती महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको आफ्नै घरबाट थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र नाथ पौडेलले जानकारी दिए । फरार भएयता भारत तथा नेपालका विभिन्न ठाउँमा लुकेर बसेका थापा घरमा आएको सूचना प्राप्त भएपछि बुधबार राती जिल्ला प्रहरी कार्यालय मलंगवा, इलाका प्रहरी कार्यालय हरिवन, इलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

एसपी पौडेलका अनुसार थापाको साथबाट दुई थान पेस्तोल र १५ राउण्ड गोली बरामद् भएको छ । अब थापाविरुद्ध हात हतियार खरखजाना कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्धा प्रकृया अगाडी बढाईने एसपी पौडेलले जानकारी दिए ।

चुरे भावर राष्ट्रिय पार्टीका तत्कालिन उपाध्यक्ष बाबु थापा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषि ठहर भई जन्मकैद भुक्तानका लागि कारागारमा रहेका थिए । न्यायाधिश बमको हत्या २०६९ जेठ १८ गते भएको थियो । थापालाई २०७१ मा पक्राउ गरेर प्रहरीले अदालतमा पेश गरेको थियो ।