logo
  • शनिबार, कार्तिक १, २०८३ / Saturday, Oct, 17 ,2026

संग्रामपुरमा कार पल्टियो : चालकको मृत्यु, अन्य दुई घाइते


  • उज्यालो अभियान

संग्रामपुर, ३० असोज – पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत बोर्डर नजिकै पर्ने सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुर पुलमा आज मध्यान्ह भारतीय कार पल्टँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हुलाकी रोड भएर महोत्तरीबाट सर्लाहीतर्फ आउँदै गरेको बीआर ०६ बिएक्स ०४३५ नम्वरको कार अनियन्त्रित भइ पल्टिएको हो । उक्त दुर्घटनामा कार चालक महोत्तरीको गौशाला नगरपालिका–५, जिरोमाइल बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा कारमा सवार गौशाला नगरपालिका–४ बस्ने २२ वर्षीय शम्भुनाथ कुमार साह र २३ वर्षीय शुभमकुमार शर्मा घाइते भएका छन् । सामान्य घाइते दुवैको महोत्तरीमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण एकिन हुन सकेको छैन् । तर संग्रामपुर क्षेत्रको हुलाकी सडकमा अत्यधिक खाल्टाखुल्टी रहेकाले तीव्र गतिमा रहेको कार खाल्टोमा परेर अनियन्त्रित भइ पल्टिएको अनुमान गरिएको छ ।

कार सडकमै उत्तानो परेर पल्टँदा चालक र अन्य सवार व्यक्ति च्यापिएका थिए ।