कविलासी, ०७ चैत – बेमौसमी वर्षाले काँचो इँटा नष्ट गरेपछि सर्लाहीका इँटा उद्योगी मर्कामा परेका छन् ।
हिजो बेलुकाको भारी वर्षा र त्यसपछि निरन्तर झरी परिरहेकाले धमाधम तयार पार्दै गरिएको काँचो इँटा गलेर नष्ट हुँदा उद्योगी मारमा परेका हुन् । तुलसी इँटा उद्योग हरिवन नगरपालिका ९ सर्लाहीका संचालक भगवान मैनालीले खुला आकाशमुनि तयार पारिएको कराेडाैं मुल्यको काँचो इँटा नष्ट भएर गएको गुनासो गरे ।
वर्षाले नष्ट पारेको इँटाको क्षति सङ्कलन भइरहेको सर्लाही इँटा उद्योग संघले जनाएको छ । गएको वर्ष इँटाको राम्रो व्यापार भएकाले तीन/चार वर्षसम्म बन्द भएका इँटा उद्योगहरु पनि यो वर्ष सञ्चालनमा आएका थिए तर ति उद्योगले वर्षाका कारण सुरुमै क्षति बेहोर्नु परेको छ ।
सर्लाही इँटा उद्योग संघका अध्यक्ष एवं सूर्या इँटा उद्योग कविलासीका संचालक जगरनाथ रायले आफ्नो भट्टामा पोल्नका लागि तयार पारिएको करिव १५ लाख थान काँचो इँटा पानीले गलाएर काम नलाग्ने पारेको सुनाए ।
सर्लाही इँटा उद्योग संघका अनुसार जिल्लाभर करिव ६० वटा उद्योगले तयार पारेको काँचो इँटामा वर्षाले क्षति गरेको छ ।