मालपोत कार्यालय हरिवनमा अनलाइन गराउन लाइनमा बसेका सेवाग्राही । (तस्बीर : उज्यालो अभियान)
हरिवन, ०६ चैत – मालपोत र नापी कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही ‘सर्भर’ नचल्ने समस्याले दिक्क भएका छन् ।
हरिवन, बरहथवा र मलंगवामा रहेका मालपोत तथा नापी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले हैरानी पाएका हुन् । मालपोत कार्यालयको भू–अभिलेख सूचना व्यवस्था प्रणाली (एलआरआइएमएस) र नापी कार्यालयको नेपाल भूमि सूचना प्रणाली (नेलिस) बारम्बार अवरुद्ध हुने समस्याले सेवाग्राही सास्ती बेहोर्न बाध्य भएका हुन् ।
सर्भर नचल्दा एउटै कामका लागि दुई÷तीन दिनसम्म मालपोत र नापी कार्यालय धाउने सेवाग्राही धेरै भेटिन्छन् । हरिवन नगरपालिका–४, सासापुरका अम्बरबिक्रम भण्डारीले सर्भरको समस्याले घण्टौँ लाइनमा बस्नुपरेको गुनासो पोखे । “सर्भरको समस्याका कारण अनलाइनबाट एकैछिनमा हुने कामका लागि दिनभर नै कुरेर बस्नुप¥र्यो,” भण्डारीले भने,“अनलाइनबाट फटाफट काम हुँदा सहज त हुन्थ्यो तर दिनभर नै सर्भर नचल्ने समस्याले झन धेरै सास्ती पाइयो ।”
हरिवनस्थित मालपोत र नापी कार्यालयमा बुधबार र बिहीबार दिनभर नै सर्भरको समस्या देखियो । एक घण्टामा हुने काम सर्भरको समस्याले दिनभर कुरेर बस्दा पनि नभएपछि सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भए ।
महिला साना किसान कृषि सहकारी संस्था ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरका व्यवस्थापक विजयकुमार बोहोराले संस्थाका शेयर सदस्यको काम लिएर बिहीबार दिनभर मालपोत कार्यालय हरिवनमा गएर बसे पनि काम नभएपछि रित्तो हात फर्कनुपरेको गुनासो गरे । दुई दिनदेखि मालपोत कार्यालय हरिवनमा निरन्तर धाइरहेका लालबन्दी नगरपालिका–१७, रानिगन्जका पूर्व वडाध्यक्ष नवराज अधिकारीले सर्भरलाई भरपर्दो नबनाए सेवाग्राहीले यसैगरी दुःख पाइरहने अवस्था रहेको सुनाए ।
मालपोत कार्यालय हरिवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठले सर्भरमा आएको समस्याबारे भूमि व्यवस्था तथा अभिलेख विभागमा निरन्तर गुनासो राखिरहेको तर समाधान नभएको बताए । “सर्भरको समस्या अहिले देशव्यापी नै छ,” मालपोत अधिकृत श्रेष्ठले उज्यालो अभियानसँग भने,“सर्भर सञ्चालन र नियन्त्रणको काम विभागबाटै हुने भएकाले हाम्रो हातमा हुँदैन । यताबाट गर्नुपर्ने ताकेता त गरिरहेकै छौँ ।”
बेलाबेलामा सञ्चालन हुने र रोकिनेक्रम जारी नै रहेकाले सेवाग्राहीलाई पर्खिनुस् भन्नुको विकल्प नै नरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । गएको असारमा लगातार तीन दिन सर्भर नचल्दा सूचना नै जारी गरिएको भए पनि अहिले त घरी चल्ने घरी नचल्ने भइरहेकाले सूचना जारी गर्न पनि नसकिएको मालपोत अधिकृत श्रेष्ठले बताए ।
मालपोत कार्यालय मलंगवाका प्रमुख नितेशकुमार झाले सर्भरको समस्याले गर्दा काम थुप्रिएर बसेको बताए । सर्भरको समस्याका कारण बारम्बार नापी र मालपोत कार्यालय धाउनुपर्दा अन्यत्र अत्यावश्यक काम रहेका सेवाग्राही, अशक्त र वृद्धवृद्धा थप मारमा परेका छन् । सर्भर चल्ने आशमा सेवाग्राही घण्टौँ उभिएर बसेको भेटिन्छन् ।
टाढाबाट सेवा लिन पुगेका सेवाग्राही एउटा कामका लागि दिनहुँ धाइरहनुपर्दा गाडी भाडा, खाना, खाजालगायत अतिरिक्त खर्चको मारमा परेका छन् । सर्भर नचल्दा भोग्नुपरेको पीडा सेवाग्राहीले कर्मचारीमाथि पोख्ने गरेका छन् ।
नापी कार्यालय हरिवनका प्रमुख श्रीराम जोशीले सर्भरमा आएको समस्याले नियमित काम गर्न समस्या परिरहेको बताए । “सर्भर नचलुन्जेल हामी पनि कुरेर बस्ने र सेवाग्राहीलाई पनि कुराउनु वा अर्को दिन आउनुस् भन्नुको विकल्प नै रहेन,” प्रमुख नापी अधिकृत जोशीले उज्यालो अभियानसँग भने, “अहिले सबैजसो काम अनलाइनबाटै हुने भएकाले सर्भर नचल्दा त सबै काम रोकिने नै हुन्छ ।”