लालबन्दी, ०५ चैत – “वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मुल नारासहित वन डढेलो नियन्त्रण सप्ताह सर्लाहीमा पनि सुरु भएको छ ।
डिभिजन वन कार्यालय सर्लाहीले बुधबारदेखि वन डढेलो व्यवस्थापन सप्ताहको प्रारम्भ गरेको हो । बुधबार पहिलो दिन लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गमा सचेतनामूलक र्याली र समुदायको सहभागितामा वन डढेलो नियन्त्रण गर्ने तरिकासमेत सिकाइएको सर्लाहीका डिभिजन वन प्रमुख सन्तोष झाले जानकारी दिए ।
डिएफओ झाका अनुसार निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेसहित सुरक्षा अधिकारीहरु समेतलाई आमन्त्रण गरेर डढेलो नियन्त्रणसम्वन्धी अभ्यास गरेर देखाइएको हो । सुक्खापन र हावाहुरी चल्ने मौसम सुरु भएसँगै वन डढेलोको याम सुरु भइसकेको छ ।
घाँस पलाउने भन्दै स्थानीय, चरुवालगायतले वनमा डढेलो लगाउँदा काठ, दाउरा, बोट विरुवा नष्ट हुने र वन्यजन्तु मासिने क्रम बढ्दो छ ।