मलंगवा, ०५ चैत – सर्लाही सदरमुकाम मलंगवामा आज पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृतकको परिचय खुल्न सकेको छैन् । मलंगवा नगरपालिका–२, मा रहेको नासी पोखरीमा डुबेर तराई मुलको जस्तो देखिने अन्दाजी ३० वर्षीय युवकको मृत्यु भएको छ ।
आज दिउँसो १ बजेतिर पोखरीमा डुबेर बेपत्ता भएका युवकको साँझ साँढे ५ बजेतिर शव फेला परेको हो । स्थानीयसमेतको सहयोगमा माछा मार्ने जाल हानेर युवकको शव फेला पारिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले उज्यालो अभियानसँग बताए ।
स्थानीयले बेवारिसे युवकलाई पोखरीमा डुबेको देखेपछि प्रहरीमा खबर गरेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्दा पनि फेला नपरेपछि अन्तिममा स्थानीयसमेतको सहयोगमा जाल हानेर खोजी गर्दा युवकको शव फेला परेको हो ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको डिएसपी राईले जानकारी दिए ।