मलंगवा, ३० फागुन – शान्ति, सुरक्षा कायम गर्न चौबिसैँ घण्टा खटिँदा जहिल्यै सवारी साधनको अभाव खेप्ने प्रहरीले हरेक निर्वाचनको समयमा केही नयाँ सवारी साधन प्राप्त गर्ने गरेका छन् ।
सोही क्रममा भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा सर्लाही प्रहरीले पाँचवटा नयाँ गाडी प्राप्त गरेको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाका लागि तीनवटा, इलाका प्रहरी कार्यालय लालबन्दीका लागि एउटा र इलाका प्रहरी कार्यालय हरकठवाका लागि एउटा गाडी प्राप्त भएको हो ।
जिल्ला प्रहरी कार्यालयका लागि बोलेरो पिकअप एक थान, भ्यान एक थान र स्कारपियो पिकअप एक थान प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय बरहथवा मातहत रहेको ‘ख’ बर्गको इलाका प्रहरी कार्यालय हरकठवामा एक÷एक थान पिकअप प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी सरोज राईले जानकारी दिए ।
नयाँ गाडी प्राप्त भएसँगै कुनै घटना, दुर्घटना हुँदा प्रहरीलाई तुरुन्त पुग्न र गस्ती गर्न सहज हुने डिएसपी राईले बताए ।