logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

चुनावको मौकामा वन अतिक्रमण गरी बनाइएका पाँच दर्जन छाप्रो भत्काइयो


  • उज्यालो अभियान

घुर्कौली, २९ फागुन – सर्लाहीको हरिवन नगरपालिका ६ र ७ मा पर्ने चारलिकस्थित सागरनाथ वन विकास परियोजनामा वनको जग्गा अतिक्रमण गरी बनाएका पाँच दर्जन बढी छाप्रो भत्काइएको छ ।

प्रतिनिधि सभा सदस्य चुनावको मौका छोपी कर्मचारीहरु निर्वाचनमा केन्द्रीत भएका बेला वनको जग्गा अतिक्रमण गर्ने उद्देश्यले बनाइएको छाप्रो भत्काइएको हो । विगत एक साताभित्र सागरनाथ वन विकास परियोजनाको मसला रहेको पलौट क्षेत्रमा बाँस गाडेर बनाइएका ६० भन्दा बढी टहरा एकैसाथ भत्काइएको डिभिजन वन कार्यालय सर्लाहीका वन अधिकृत हिरोहित चौधरीले जानकारी दिए ।

डिभिजन वन कार्यालय लालबन्दी, सव डिभिजन वन कार्यालय जानकीनगर र मुर्तिया तथा सागरनाथ वन विकास परियोजना सागरनाथका कर्मचारी, वन रक्षकलगायत भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा छाप्रो भत्काएर आगो लगाएर नष्ट गर्ने काम गरेका हुन् । वनका कर्मचारी र प्रहरी ठुलो सङ्ख्यामा पुग्दा वनको जग्गा अतिक्रमण गरेर टहरा बनाउने मानिसहरु भने देखा परेनन् ।

वन कर्मचारी र सुरक्षाकर्मीको टोलीले छाप्रो बनाउन गाडिएको बाँस बरामद गरी वरिपरी बेरिएका झिक्रा डढाउने काम गरेको वन अधिकृत चौधरीले बताए । त्यस क्षेत्रमा अब पुनः कडा निगरानी गरी वन अतिक्रमणको प्रयास गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारवाही गरिने चौधरीले बताए ।

जिल्लाको लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बागमती र बरहथवा क्षेत्रमा यसरी सागरनाथ वन विकास परियोजना तथा विभिन्न सरकारी र साझेदारी वन अतिक्रमण गरेर घरटहरा बनाउने तथा खेतीबाली लगाउने गरिएको वनका कर्मचारीले बताएका छन् ।
वन अतिक्रमण तथा तस्करी रोक्न नियमित गस्ती बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।